नौबिसे–नागढुङ्गा सडकको बेहाल, १० मिनेट गाडी रोक्दा ३ किलोमिटर जाम

56

छिनछिन खबर
काठमाडौं– दसैं मान्न राजधानीबाहिरिनेको संख्या बढ्दै गर्दा नौविसे–नागढुङ्गा सडकमा जाम पर्ने क्रम बढेको छ । खासगरी सडक मर्मत नहुँदा जाम हुने गरेको हो ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारी सो सडक खण्ड मर्मतसम्भारमा कठिन हुने गरेको बताउँछन् । १० मिनेट सडक रोक्दा तीन किलोमिटरसम्म सडक जाम हुने गरेको छ । सो क्षेत्रमा ६ देखि ७ मिटर सडक चौडा रहेको छ । सोही सडक हुँदै दैनिक १४ हजार हाराहारी सवारीसाधन राजधानी प्रवेश र बाहिरिने गर्दछन् ।

सो खण्डमा मर्मतसम्भारका लागि गत वर्ष बोलपत्र आह्वान गरिए पनि कसैले पनि बोलपत्र समावेश गरेनन् । यस वर्ष पनि पहिलो बोलपत्र कसैको पनि नपरेको अधिकारी बताउँछन् । दोस्रो बोलपत्रको तयारी भइरहेको छ । काम गर्न नसक्ने भएपछि ठेकेदार कम्पनीहरुले मुग्लिनदेखि पिप्लामोडसम्म नै मर्मतका लागि बोलपत्र समावेश नगर्ने गरेको उनको भनाइ छ । यस वर्षको दशैँअघि मालवाहक सवारीका कारण धसिएको क्षेत्र मर्मत गर्न थालेको भए पनि काम गर्न नसकिएको सो क्षेत्र हेर्दै आएका इन्जिनीयर हरिकुमार ठकुरी बताउँछन् ।

साउन र भदौ महीनाका अधिकांश समय पानी परेका कारण असोजको पहिलो साता ती खाल्डा पुर्न शुरु गरिएको भए पनि सवारी चापका कारण काम सक्न नसकिएको ठकुरी बताउँछन् । प्रमुख अधिकारीले भने, “असोज ७ गते बेलुकाबाट हामीले सवारी रोकेर काम गरेका छैनाँै । सवारी चापकै कारण सडकमा समस्या देखिएको हो ।” रातको समयमा पनि सवारी चापकै कारण काम गर्न सकिएको छैन । सो सडक खण्डको चितवनले हेर्ने क्षेत्रको ८० प्रतिशत मर्मतसम्भारको काम सकिएको उनको भनाइ छ । गणेश मन्दिर आसपासको क्षेत्र मात्र बाँकी रहेको छ । दशैँको नवमी र टीकाका दिन सवारी चाप घट्ने भएकाले काम गर्ने मानिस भेटिएमा सोही दिन केहीबेर एकतर्फी सवारी रोकेर काम गर्ने तयारी सडक कार्यालयले गरेको छ ।

ठेक्का कसैको पनि नपरेपछि सोही सडक खण्डमा रणनीतिक सडक मर्मतअन्तर्गत भित्तामा काम गर्दै आएको जिएमआर कन्सट्रक्शनको सहयोग लिएर मर्मतको काम भइरहेको छ । सडकमा सवारी नरोकेर नै खाल्डा परेका ठाउँमा भर्ने काम भने अहिले पनि भइरहेको छ । सडकका कारण मात्र नभएर सवारीको उच्च चाप, ठूला साना सवारी एकै साथ गुड्ने, दशैँका बेला क्षमताभन्दा बढी सामान बोकेर जाँदा उकालोमा बिग्रने, चालकले जथाभावी उछिन्ने जस्ता कारण सवारी आवागमनमा समस्या भएको देखिन्छ ।

Womui
Womui