समाधान भयो नौबस्तामा औद्यौगिक क्षेत्र निर्माणको विवाद

130

धम्बोझी–बाँकेको वैजनाथ गाउँपालिका– ३ नौवास्तामा स्थापना गरिने प्रदेशस्तरीय औद्यौगिक क्षेत्रको जग्गा विवाद समाधान भएपछि ५२५ बिघामा औद्यौगिक क्षेत्र निर्माण हुने भएको छ ।  त्यससँगै भौतिक पूर्वाधार निर्माणको बाटो खुलेको छ ।

सरकारले औद्योगिक क्षेत्रका लागि छुट्याएको सो जग्गामा २०० भन्दाबढी स्थानीय घर बनाएर बसिरहेकाले औद्यौगिक क्षेत्रको भौतिक पूर्वाधार निर्माणलगायतको काम अघि बढ्न सकेको थिएन । उक्त विवाद धेरैपटक समाधान गर्ने प्रयास गरिए पनि समाधान हुन नसकेकामा जिल्ला प्रशासन कार्यालयमा भएको पछिल्लो सर्वदलीय बैठकमा सो समस्या समाधान भएको हो । अब भौतिक पूर्वाधार निर्माणको काम शुरु गरिने औद्यौगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले बताएका छन् ।

औद्योगिक क्षेत्रको जग्गामा रहेको २०८ घरसहित करिब २६८ परिवारलाई सोही स्थान नजिकको ३० बिघा क्षेत्रफलमा जग्गा दिएर सार्ने सर्वदलीय सहमति बनेपछि विवाद समाधान भएको अध्यक्ष बस्नेतले बताए । उनले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिले छानबिन गरेर कसलाई कति जग्गा दिने भन्ने छिनोफानो गरेर जग्गा उपलब्ध गराउने सहमति बनेको बताएका छन् । औद्योगिक क्षेत्र सञ्चालनमा आएपछि सो वरपरका स्थानीयले रोजगारी पाउनुका साथै अन्य विभिन्न व्यवसायसमेत गर्नसक्ने भएकाले नजिकै जग्गा पाएमा जाने बताएका थिए ।

जग्गा विवादकै कारण करिब चार वर्षदेखि औद्योगिक क्षेत्र सञ्चालनको काम हुन नसकेकामा अब तीव्र गतिमा काम शुरु गर्नुपर्ने नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल बैश्यले बताए । अबका केही महिनाभित्र उद्योगीलाई जग्गा उपलब्ध गराएर चार वर्ष्भित्र सम्पूर्ण निर्माण कार्य पुरा गर्ने योजना रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले औद्योगिक क्षेत्रको जग्गाभित्र घर बनाएर बसेका परिवारको उचित व्यवस्थापन गर्न सफल भएको जनाउँदै अब औद्योगिक क्षेत्र निर्माणको काम तीव्र पारिने बताएका छन् । प्रदेशस्तरीय सो औद्योगिक क्षेत्रले कम्तीमा ३० हजारलाई रोजगारी दिने बताइएको छ । रासस

Womui
Womui