अविरल वर्षाले बाँकेको विभिन्न भू-भाग डुबायो

147

नेपालगन्ज, असोज १-
अविरल रुपमा परेको वर्षाले बुधबार नेपालगन्जसहित जिल्लाको विभिन्न भू-भाग डुबानमा परेको छ । वर्षाले खजुरा गाउँपालिका वडा नम्बर ६ र ७ का विभिन्न गाउँ तथा नेपालगन्ज उपमहानगरपालिकाको घरबारीटोल, धम्बोझी, सुर्खेतरोड, न्यूरोड, गणेशपुर, सल्यानीबाग, सहिद सेतु विक चोक, कोरियनपुर, बेलासपुरलगायत क्षेत्र डुबानमा परेको हो ।

बाढीले खजुरा गाउँपालिका वडा नम्बर ६ र ७ मा १ सय ७२ घर डुबाएको रिपोर्ट प्राप्त भएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए । डुबान प्रभावितको संख्या अझै बढ्न सक्ने उनले अनुमान गरे । सो क्षेत्रका डुबान पीडितहरु नजिकैको सामुदायिक बिद्यालय भवनमा आश्रय लिएका छन् । नेपाल रेडक्रसका झबि शर्माले दिएको जानकारी अनुसार स्थानीय आधारभुत बिद्यालय सिन्दुरीमा १ सय जति र जनसेवा माध्यामिक बिदालयमा ८/१० जना बिस्थापित परिवारले आश्रय लिएका छन् ।

वर्षाका कारण बुधबार दिनभर त्यस क्षेत्रको यातायात समेत प्रभावित भएको थियो । प्रमुख जिल्ला अधिकारीसहित विभिन्न अंगका सुरक्षा प्रमुख दिउँसो डुबान क्षेत्रमै खटिएका थिए । यता नेपालगन्जमा पनि घरबारीटोल, सहिद सेतु बिक चोक, सल्यानीबाग लगायत क्षेत्रमा घरहरु डुबेका छन् । अविरल वर्षाले घरबारीटोलमा ९ वटा पसल र २ वटा घर डुबेको स्थानीय सन्ध्या शर्माले बताईन् । न्युरोडका स्थानीय बासिन्दासमेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठका अनुसार सेतु विक चोक नजिक रहेको कस्तुरी होटलसहित करिव आधा दर्जनबढी पसल डुबेका छन् । नेपालगन्जका अन्य वडा तथा टोलमा पनि केही घर तथा पसल डुबेको स्थानीयले बताएका छन् ।

 

तस्बिरहरु सौजन्य : झवि शर्मा, खगेन्द्र दाहाल र सन्ध्या शर्मा

Womui
Womui