नरैनापुरमा बन्यो आठ बर्षपछि प्राथमिक स्वास्थ्य केन्द्र भवन

291

नेपालगन्ज, भदौं २७-
बाँकेको राप्तीपारी नरैनापुरमा झण्डै ८ वर्षपछि प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माण भएको छ । उक्त भवनको सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले शुक्रबार उद्घाटन गरे । सो कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले नरैनापुरलाई हुलाकी सहरका रुपमा विकास गरिने बताए । नरैनापुरलाई १० बर्षभित्र हुलाकी सहरका रुपमा विकास गर्न प्रत्येक बर्ष १ अर्बका दरले १० बर्षमा १० अर्ब रुपैयाँ छुट्ट्याइने राईको भनाई छ ।

गत आर्थिक बर्षमा नरैनापुरका ३ सय घरलाई फुसरहित बनाउन बजेट आएको बताउँदै मन्त्री राईले अबको तीन बर्षभित्र सबै घरलाई फुसरहित बनाइने प्रतिवद्धता जनाए । आफूलाई पहिलोपटक २०६४ मा सभासद्का रुपमा निर्वाचित गरेका बघौडाबासीसँग आफ्नो विशेष लगाव रहेको बताउँदै उनले शिक्षा, स्वास्थ्य, विजुली, सडक लगायतको विकासका लागि आफूले आफ्नो तर्फबाट कुनै कञ्जुस्याईं नगर्ने बताए । जिल्ला समन्वय समितिका संयोजक अजयकुमार श्रीवास्तबले ढिलै भएपनि सुविधा सम्पन्न अस्पताल निर्माण हुनु बघौडाबासीका लागि खुसीको क्षण भएको बताए ।

गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले नरैनापुरको सर्वाङ्गिन विकासका लागि आफू लागिपरेको बताए । उनले पिछडिएको क्षेत्रको विकासका लागि संघीय सरकारले कम बजेट दिएको गुनासो गर्दै यथेष्ट बजेट उपलब्ध गराउन मन्त्री राई समक्ष आग्रह गरे । तीन करोड १९ लाखको लागतमा बनेको नरैनापुर गाउँपालिकाको वडा नम्बर २ लक्ष्मणपुरमा स्वास्थ्य केन्द्र भवन निर्माणका लागि २०६८ साल भदौ २० गते सम्झौता भएको थियो । १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएपनि ८ बर्षपछि मात्र भवन निर्माण सम्पन्न भएको संघीय सहरी विकास आयोजना कार्यान्वयन इकाई नेपालगन्जका प्रमुख सुवास बस्नेतले बताए । केन्द्रमा एक जना एमविविएस डाक्टरहित १३ जनाको दरबन्दी रहेको छ ।

Womui
Womui