काठमाडौं–रक्सौल रेलमार्ग ५ वर्षमा पूरा हुने, लागत तीन खर्ब

200

काठमाडौं–रक्सौल रेलमार्ग निर्माणका लागि विभिन्न चारवटा वैकल्पिक रूट प्रस्ताव गरिएको छ । उक्त प्रतिवेदनका अनुसार मार्गको लम्बाइ र भौगौलिक स्थितिका आधारमा अहिलेको विनिमय दरअनुसार निर्माणको लागत २.६६ खर्बदेखि ३.१७ खर्ब रुपैयाँ पर्ने देखिएको छ ।

 


भारतले बुझाएको प्रारम्भिक इन्जिनियरिङ एवम् ट्राफिक सर्भे रिपोर्टका अनुसार त्यति रकम सिभिल इन्जिनियरिङ र मेकानिकल इन्जिनियरिङसँग सम्बन्धित भौतिक निर्माणकार्यका लागि खर्च हुनेछ । प्रतिवेदनका अनुसार परियोजना पूर्ण रूपमा नेपाली भूभागमा पर्ने हुँदा अनुमानित लागतमा भूमि अधिग्रहण गर्न लाग्ने खर्च र आयात गरिने मालसामान तथा उपकरणमा लाग्ने विभिन्न कर जोडिएको छैन ।

काठमाडौं–रक्सौल रेलमार्ग निर्माण गरिने स्थान पहाडी भूभागमा पर्छ । त्यसैले विभिन्न स्थानमा सुरुङ तथा पुल निर्माण गर्नुपर्ने हुन्छ । भौगर्भिक अवस्थालाई उक्त परियोजनाको मुख्य चुनौती मानिएको छ । कतिपय स्थानमा पुग्न कठिन हुने र परियोजना निर्माणका लागि पहाडी भेगमा काम गरिसकेको दक्ष जनशक्ति तथा ’स्टेट अफ द आर्ट’ उपकरण प्रयोग गर्नुपर्ने हुँदा समथर भूमिमा निर्माण गरिने रेलमार्गको तुलनामा महँगो हुन जाने बताइएको छ ।

परियोजनाको प्रतिफल दर ५.६५ प्रतिशत हुने उक्त प्रतिवेदनमा उल्लेख छ । “यद्यपि परियोजनाले दिन सक्ने विशाल आर्थिक सामाजिक लाभका कारण कार्यान्वयनमा लान सकिनेछ,“ प्रतिवेदनमा लेखिएको छ ।गत वर्ष नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाण्डौ(रक्सौल रेलमार्गको अध्ययन अगाडि बढाउन एउटा समझदारीपत्रमा हस्ताक्षर गरेका थिए। नेपाल र भारतका सीमावर्ती क्षेत्रलाई जोड्ने रेलमार्ग भए पनि काठमाण्डौसँग जोड्ने रेलमार्ग चाहिँ यो पहिलो हुनेछ।

विकल्प

प्रतिवेदनले रेलमार्ग निर्माणका लागि चारवटा रूट विकल्पका रूपमा देखाएको छ । तीमध्ये पहिलो रूटको लम्बाइ झन्डै १७१ किलोमिटर, दोस्रोको १९१ किलोमिटर, तेस्रोको १९८ किलोमिटर र चौथौको १३६ किलोमिटर छ। प्रतिवेदनका अनुसार रेलमार्गमा १३ देखि २० वटा स्टेशन राख्न सकिनेछ । पहिलो विकल्प जितपुर, हटिया, हेटौँडा, मन्थली र सतीखेल हुँदै काठमाडौ पुग्छ । त्यसको ट्र्याक २३१ किलोमिटर हुनेछ भने १८ वटा स्टेशन हुनेछन् ।

दोस्रो विकल्प जितपुर, निजगढ, हेटौँडा, मन्थली र सतीखेल हुँदै काठमाडौ पुग्छ । त्यसको ट्र्याक २४६ किलोमिटर हुनेछ भने १९ वटा स्टेशन हुनेछन् । तेस्रो विकल्प जितपुर, निजगढ, शिखरपुर, बिट्नी र सतीखेल हुँदै काठमाण्डौ पुग्छ। त्यसको ट्र्याक २२२ किलोमिटर हुनेछ भने २० वटा स्टेशन हुनेछन् । जितपुर, निजगढ, शिखरपुर, सिस्नेरी र सतीखेल हुँदै काठमाडौ पुग्ने चौथो विकल्पमा ९१.२ किलोमिटर लामो सिङ्गल लेन र ४४.६८६ किलोमिटर लामो डबल लेन हुनेछन्। त्यसको ट्र्याकको लम्बाइ २१९ किलोमिटर हुनेछ ।

प्रतिवेदनमा चौथो विकल्पको लागत अरू तीनवटा सम्भावित रूटभन्दा कम पर्न आउने देखाइएको छ । त्यसका लागि सबैभन्दा कम भूमि आवश्यक पर्ने उल्लेख छ । उत्तरी छिमेकी चीनको सीमावर्ती क्षेत्रलाई पनि काठमाडौसँग रेलमार्गले जोड्ने चर्चा भइरहँदा भारतले रक्सौल–काठमाडौ रेलमार्गलाई सहयोग प्रस्ताव गरेको थियो । बीबीसी

Womui
Womui