नेकपा कार्यकर्ताले बाँके कांग्रेस सभापति कोईरालाको हात भाँचे

124

नेपालगन्ज, भदौं २६-
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कार्यकर्ताले बाँकेमा अराजकता प्रर्दशन गरेका छन् । नेपाली कांग्रेस बाँकेको जनजागरण अभियान कार्यक्रममै आक्रमण गरी जिल्ला सभापति किरण कोइराला लगायत ब्यक्तिलाई घाईते बनाएका छन् । आक्रमणबाट कोइरालाको बाँया हात भाँचिएको छ । दोस्रो चरणको जनजागरण अभियान अन्तर्गत कांग्रेसले बिहीबार बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ सितापुरस्थित रेडक्रस भवनमा कार्यक्रम आयोजना गरेको थियो । सोही स्थलमा प्रवेश गरी नेकपाका कार्यकर्ताले यो हाम्रो क्षेत्र हो, तिमीहरु कार्यक्रम गर्न पाउँदैनौं भन्दै आक्रमण गरेको कांग्रेस बाँकेले जनाएको छ । खजुरा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष एवम् नेकपाका स्थानीय नेता सुमन मल्लको निर्देशनमा आक्रमण भएको कांग्रेसले जनाएको छ ।

जनजागरण कार्यक्रमलाई पार्टीका केन्द्रिय प्रतिनिधी विद्याप्रसाद खनालले सम्बोधन गरिरहेकै बेला एक्कासी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट युवा आएर कार्यक्रम बिथोल्न खोजेको र सम्झाउन अनेक प्रयास गर्दापनि नमानेर आक्रमण गरेको सभापति कोइरालाको भनाई छ । ‘हामीले त्यहाँ असुरक्षा महसुस ग¥यौं, त्यहाँको अवस्था राम्रो देखेनौं, हाम्रा कार्यकर्ता त्रसित भएका छन्,’ उनले घटनाबारे जानकारी दिदै पत्रकार सम्मेलनमा भनिन् । नेकपाले कार्यक्रम बिथोल्न लागेको संकेत पाए लगत्तै प्रहरी प्रशासनलाई पुर्व जानकारी गराउँदा पनि बेवास्ता भएको उनको गुनासो छ ।

कांग्रेसका केन्द्रिय प्रतिनिधी बिद्याप्रसाद खनालले नेकपाका कार्यकर्ताले आक्रमण गरिरहँदा कार्यक्रम स्थलमा रहेका प्रहरी मुखदर्शक बनेको बताए । ‘खबर गरेको डेढ घण्टापछि थप प्रहरी घटनास्थलमा पुगे, तर आक्रमणमा संलग्न ब्यक्तिलाई पक्राउ गरेनन्,’ उनले भने ‘राज्य सत्ताकै संलग्नतामा हामीमाथी आक्रमण भएको छ ।’ पत्रकार सम्मेलनमा कांग्रेस क्षेत्र नम्बर ३ का सभापति नक्की खाँले खजुरा गाउँपालिकामा भएको भ्रष्टाचारको प्रतिवाद गर्दा सुनियोजित रुपमा आक्रमण गरिएको बताए ।

पुर्वसांसद बादसा कुर्मीले जनजागरण अभियानमार्फत स्थानीय तहमा भएका भ्रष्टाचारबारे जनतालाई सचेत गराउने केन्द्रबाट परिपत्र आएको स्मरण गराउँदै भ्रष्टाचार र अनियमिताको विरुद्ध आवाज उठाउँदा कांग्रेस कार्यक्रममाथी आक्रमण भएको बताए । घटनाको कांग्रेस बाँकेले विज्ञप्तीमार्फत पनि घोर भत्र्सना गरेको छ । जिल्ला सभापति किरण कोइरालाले हस्ताक्षर गरेको विज्ञप्तीमा आक्रमणमा संलग्न दोषी उपर कारबाही नभए पार्टीले कडा भन्दा कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिइएको छ । घटनाको विषयमा प्रतिक्रिया दिदै प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले सितापुरको घटनामा सामान्य हात हालाहाल मात्र भएको जानकारी आफुलाई आएको बताए ।

Womui
Womui