आक्रमणविरुद्ध बाँके कांग्रेस सडक आन्दोलनमा

246

नेपालगन्ज, भदौं २७-
नेपाली कांग्रेस बाँकेले शुक्रबार(आज) सडक आन्दोलन गर्ने भएको छ । दोस्रो चरणको जनजागरण अभियान अन्तर्गत बिहीबार बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ सितापुरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कार्यकर्ता हलभित्र प्रवेश गरी आक्रमण गरेका थिए । सो क्रममा नेकपाका कार्यकर्ताले नेपाली कांग्रेसका जिल्ला सभापति किरण कोईरालाको बायाँ हात भाँच्नुका साथै दर्जनौं नेता तथा कार्यकर्तामाथी कुटपिट गरेका थिए ।

कांग्रेसले शुक्रबार जिल्लाका विभिन्न स्थानमा पुर्व निर्धारित जागरण कार्यक्रमलाई सडक आन्दोलनमा परिणत गरेको हो । बिहान १० बजे नेपाली कांग्रेस पार्टी कार्यालयबाट प्रर्दशन सुरु हुने जिल्ला सदस्य सुधान्सु कोइरालाले जानकारी दिए । सत्तारुढ नेकपा र वर्तमान सरकारले जसरी अराजकता प्रर्दशन गर्दै जागरण कार्यक्रममै आक्रमण गरेको छ, यसका विरुद्ध हामीले आज जागरण कार्यक्रमलाई सडक आन्दोलनमा परिणत गरेका छौं,’ उनले भने ।

उक्त प्रर्दशनमा उपस्थित हुन कार्यकर्ता, शुभचिन्तक तथा आम सर्बसाधारणलाई कांग्रेस बाँकेले आब्हान गरेको छ । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का स्थानीय नेता एवम् खजुरा गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष सुमन मल्लको निर्देशनमा सोही वडाका सुनिल, मुमबहादुर वली, पारस मल्ल, निमबहादुर वली, निर्मल खत्री, ‘लोके’ नाम गरेका ब्यक्ति समेतले ज्यानै मार्ने नियतले सामुहिक आक्रमण गरी सांघातिक आक्रमण गरेको कांग्रेसको ठहर छ । यसैबीच घटनामा संलग्न भएको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार राती साढे १२ बजेतिर निर्मल खत्री, रोशनसिंह ठकुरी र लोके’ भन्ने लोकबहादुर शाही लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख बीरबहादुर ओलीले बताएका छन् ।

Womui
Womui