सेनाद्वारा जनता आवासका ८ सय ६९ घर हस्तान्तरण

106

छिनछिन खबर
बारा–बारा र पर्सामा गएको चैत १७ गते आएको हुरीबतासका कारण विस्थापितलाई घर पुनर्निर्माण गरी हस्तान्तरण गरिएको छ । सेनाले पुनर्निर्माण सम्पन्न गरेका ती घरहरूको प्रमाणपत्र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सम्बन्धित महानगरपालिका, उप–महानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुखलाई हस्तान्तरण गरेका हुन् ।

नेपाली सेनाको जनता आवास कार्यदलले बारामा निर्माण गरेका ८ सय ७ र पर्सामा निर्माण गरेका ६२ वटा घर हुरीबतासपीडितलाई हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, प्रधानसेनापति पूर्णचन्द्र थापा, रक्षा सचिव रेश्मीराज पाण्डेलगायत सहभागी थिए । सो अवसरमा कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलले नेपाली सेनाले आफ्नो गौरवपूर्ण परम्पराको निरन्तरतालाई कायम राख्दै तोकिएको जिम्मेवारी समयमा नै सम्पन्न गरेको बताए ।

कार्यक्रममा प्रधानसेनापति थापाले ‘राष्ट्र सबैभन्दा पहिला’ तथा ‘कर्तव्य सधैं पहिला’ भन्ने संस्थागत मान्यतालाई आत्मसात् गर्दै निर्दिष्ट जिम्मेवारीलाई सम्पन्न गर्न नेपाली सेना सदैव प्रतिबद्व रहेको बताए । उनले यस किसिमका विपत्तिमा नेपाली सेनाले भविष्यमा समेत आफ्नो जिम्मेवारी उत्कृष्ट ढंगबाट सम्पन्न गर्ने प्रतिबद्वता व्यक्त गरे ।

हुरीले बारा र पर्सामा ठूलो क्षति पुर्याएपछि गएको चैत २१ गते मन्त्रिपरिषद् बैठकले हुरीपीडितका लागि सरकारले नै घर निर्माण गरिदिने र सोको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । सो निर्णयपछि बारा र पर्सामा आएको नेपाली सेनाले बैशाख २१ गते शिलान्यास भएपछि घर निर्माणको काम थालेको थियो ।

घर निर्माणका लागि बारामा मात्रै झण्डै ३ हजार सेना खटिएका थिए । सेना १२ समूह बनाएर घर निर्माणमा जुटेको थियो । पुनर्निमाण गरिएका घरमा दुई कोठा, एक भान्सा, एक शौचालय र बरण्डा रहेको नेपाली सेनाले बताएको छ ।

Womui
Womui