गुण्डागर्दीलाई जिरोमा झार्ने कोहलपुर प्रहरीको उद्घोष

140

कोहलपुर, भदौं १८-
ईलाका प्रहरी कार्यालय कोहलपुरले ‘गुण्डागर्दी’ नियन्त्रणमा विशेष सक्रियता देखाएको छ । कार्यालयमा हालै सरुवा भएर आएका प्रहरी नायव उपरिक्षक(डिएसपी) हेमबहादुर शाहीले गुण्डागर्दी नियन्त्रण अभियानलाई उच्च प्राथमिकतामा राखेका हुन् । यसअघि वडा प्रहरी कार्यालय नेपालगन्जको प्रमुखको जिम्मेवारीमा रहँदा शाहीले गुण्डागर्दी नियन्त्रणमा सफलता हात पारेका थिए । ईप्रका कोहलपुरको नेतृत्व सम्हालेको एक हप्तामै गुण्डागर्दी विरुद्ध उनले विशेष अपरेशन चलाएका छन् ।

विभिन्न ठाउँमा गुण्डागर्दी गर्ने ब्यक्तिको पहिचान गरी उनीहरुलाई तत्कालै नियन्त्रणमा लिएर कारबाहीको दायरामा ल्याउने उनको रणनीति छ । गुण्डागर्दी नियन्त्रणकै क्रममा सोमबार राती मात्र कोहलपुर क्षेत्रका विभिन्न स्थानबाट ३५ जना युवालाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरिक्षक शाहीले जानकारी दिए । ‘लागु पदार्थ सेवन गर्ने, दादागिरी देखाउने, मोटरसाईकलमा तीन जना बसेर जथाभावी चलाउने जस्ता अपराधिक कार्यमा संलग्न त्यस्ता युवालाई नियन्त्रणमा लिएका छौं,’ पत्रकारसँग उनले भने ‘गुण्डागर्दीलाई जिरोमा झार्ने मेरो रणनीति छ ।’ कतिपय अभिभावकले आफ्नो छोरा गलत बाटोमा हिडिरहेको पत्तै नपाएको शाहीले सुनाए ।

यस्तै लागु औषध प्रयोग तथा कारोबार, महिला हिंसा, सवारी दुर्घटना नियन्त्रणमा पनि विशेष रणनीति अपनाउने कोहलपुर प्रहरीको योजना छ । ‘सभ्य समाज निर्माणका निम्ति अपराधिक क्रियाकलाप नियन्त्रण गर्नुपर्छ, कुनैपनि अपराधी बच्नु हुदैन,’ शाहीले थपे । ईलाका प्रहरी कार्यालयले आफ्नो कार्यक्षेत्रमा अपराधीहरुको लिष्ट तयार पारिसकेको जानकारी दिए । ‘अपराधीको लिष्ट हामीले तयार पारिसकेका छौं, अपराधी भाग्न खोजेको खण्डमा ईन्काउण्टर पनि गर्न सक्छौं,’ उनले भने । आफु राम्रो काम गर्नका लागि कोहलपुरमा आएको र शान्ति सुरक्षाका सवालमा कसैसँग पनि सम्झौता नगर्ने प्रतिवद्धता जनाए ।

आफुले काम सम्हालेको एक हप्ताभित्र विभिन्न अपराध सम्बन्धी ३० वटा मुद्दा दर्ता भईसकेको जानकारी दिए । ईलाका प्रहरी कार्यालयले सोमबार मात्र डाँका चोरी मुद्दामा ६ वर्ष कैद सजाय तथा २७ हजार ९ सय जरिवाना तोकिएका नरेन्द्र न्यौपानेलाई नियन्त्रणमा लिने क्रममा भाग्न खोज्दा गोली चलाएको थियो । बाँके बैजनाथ गाउँपालिका वडा नम्बर ४ बानियाभार निवासी ३३ बर्षिय न्यौपाने भारतबाट नेपाल आएको सूचनाका आधारमा ईप्रकाबाट डिएसपी शाहीकै कमाण्डमा खटिएको विशेष टोलीले जमुनाहामा पक्राउ गरेको थियो ।

मोटरसाईकल राखेर लैजादै गर्दा राँझा चोक नजिकै भाग्न खोज्दा बाँया खुट्टाको पिडुलामा एक राउण्ड गोली प्रहार गरी प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । २०६७ सालमा बर्दियाको बेलुवामा पर्ने देउरालीस्थित सडक खण्डमा हात हतियार देखाएर यु.एन.को गाडीमा डाँका चोरी गरेको अभियोग लगेका न्यौपाने पक्राउ परेपनि सोही मुद्दाका प्रतिवादी डिल्ली ओली, मंगल शाही लगायत ब्यक्ति अझै फरार रहेको प्रहरीले जनाएको छ ।

Womui
Womui