विदेशबाट फर्किएका युवालाई ३३ करोड सहुलियत ऋण

30

प्रनिलबहादुर खड्का
काठमाडौं–वैदेशिक रोजगारीबाट फर्केका युवाले ३३ करोड रुपैयाँ सहुलियत ऋण पाएका छन् । वैदेशिक रोजगार बोर्डले स्वदेशमा उद्यम गर्न चाहनेलाई लक्षित गरी सहुलियत ऋण दिने कार्यक्रम अघि सारेको थियो ।


जसअनुसार बोर्डमा १८ हजार सात सय ३७ ले सहुलियत ऋणका लागि आवेदन दिएका थिए । बोर्डले ती आवेदन संकलन गरी अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई उपलब्ध गराएको थियो । बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठका अनुसार ती युवाले करिब १६ अर्ब रुपैयाँ सहुलियत ऋण पाउन माग गरेका थिए । तर, बैंकहरूले निकै थोरै मात्र ऋण दिएपछि अधिकांश यवा निराश भइरहेको उनले बताए ।

उक्त कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीबाट फर्केका युवा पुनः विदेश नजाऊन भनेर वार्षिक बढीमा ५ प्रतिशतसम्म ब्याज तिर्ने गरी प्रतिव्यक्ति १० लाख रुपैयाँसम्म ऋण दिने योजना राखिएको छ । त्यस्तै लिएको ऋण पाँच वर्षमा चुक्ता गर्नुपर्ने प्रावधान बनाइएको छ । श्रेष्ठले बैंकले अनेक बहाना गरी ऋण दिन आनाकानी गरिरहेको बताए । ऋण लिन खोज्नेहरूमध्ये धेरैले कृषि क्षेत्रका लागि लिन खोजेका छन् ।

Womui
Womui