विद्यालयमा हडताल गरे ५० हजार जरिवाना

38

प्रकाश सिलवाल
काठमाडौं– कुनै पनि पक्षले आफ्नो निहित स्वार्थका लागि कलिला विद्यार्थीलाई मारमा पारेर विद्यालय बन्द गरेमा अब रु पचास हजारसम्म जरिवाना हुनेभएको छ ।

बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ७ को उपदफा ८ ले त्यसरी विद्यालय बन्द गराउने व्यक्ति वा संस्थालाई कानूनी कारवाहीको व्यवस्था गरेको छ । ऐन जारीपछि पनि विभिन्न समयमा विद्यालयमा बन्द हडताल भएपनि हालसम्म कुनै उजुरी नपरेकाले कारवाही हुन सकेको छैन । उक्त उपदफामा “कसैले सशस्त्र द्वन्द्व वा जस्तो सुकै प्रतिकूल अवस्थामा कुनै पनि प्रयोग हुने विद्यालयलगायत स्थान, सेवा वा सुविधालाई आक्रमण वा सोको सञ्चालन एवं व्यवस्थापनमा अवरोध गर्न वा गराउन हुँदैन ” भन्ने उल्लेख छ ।

दफा ७२ मा कारवाहीको व्यवस्था गरिएको छ । विसं. २०६३ मङ्सिर ५ को विस्तृत शान्ति सम्झौतापछि नेपाल सरकारले २०६८ जेठ ११ मा मन्त्रिपरिषद्बाट विद्यालय शान्ति क्षेत्रको अवधारणा पारित गरी ‘विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्दे्शिका २०६८’ जारी गरेको थियो । निर्दे्शिकाले प्रवद्र्धनात्मक प्रभाव पारे पनि कानूनी बाध्यता नपाएको अवस्थामा बालबालिका ऐनको व्यवस्था उपयुक्त कानूनी हतियार भएको बाल अधिकारकर्मी तारक धितालले बताए ।

विद्यालय शान्ति क्षेत्र निर्दे्शिकाको पुनरावलोनमा विज्ञका रुपमा कार्यरत धितालले विद्यालय बन्दकर्ता्विरुद्ध उजुरी दिनुुपर्ने बताए । निर्दे्शिकाको परिच्छेद ३ को कार्यनीतिमा शान्ति संस्कारलाई विकास गर्दै बालबालिकाको अधिकार हनन् भएको, भइरहेको वा हुन सक्ने थाहा पाएमा अभिभावक, शिक्षकलगायत अन्य कसैले तुरुन्त नजिकको प्रहरी कार्यालय र सम्बन्धित निकायमा सूचना दिने नयाँ व्यवस्था प्रस्ताव गरिएको छ ।

विद्यालयलाई सशस्त्र गतिविधि, हिंसा, दलगत राजनीति तथा अन्य हस्तक्षेप, भेदभाव, दुव्र्यवहार, बेवास्ता र शोषणबाट मुक्त राख्ने उद्देश्यले जारी भएको सो निर्दे्शिकालाई सङ्घीय प्रणाली, नीति र कानूनअनुकूल बनाउन संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) र विश्व शिक्षाको सहकार्यमा परिमार्जनका लागि परामर्श चलेको हो ।

परिमार्जनको मस्यौदामा सङ्घ, प्रदेश र स्थानीय तहबीच कार्यान्वयन, अनुगमन र प्रतिवेदनका लागि संयन्त्र बनाउने उल्लेख छ । यसैगरी टेलिफोन, इन्टरनेट, अनलाइनलगायत विद्युतीय सञ्चार माध्यम वा अन्य कुनै माध्यमबाट बालबालिकालाई हैरानी गर्ने, तर्साउने, धम्क्याउने, गलत सूचना प्रवाह गर्नेजस्ता कार्य हुन नहुने प्रस्ताव गरिएको छ ।

विद्यालयभन्दा धेरै टाढा टाढाका विद्यार्थीलाई दुःख हैरानी हुने गरी लामो समय लगाएर विद्यालय ल्याउने प्रचलन नियन्त्रण गर्दै सेवाक्षेत्र (जोनिङ) निर्धारण गर्ने परिपाटी विकास गर्ने र बालबालिका आवतजावतमा तथा बालबालिका चढ्ने विद्यालयको सवारीसाधनलाई अवरोध, नोक्सान गर्ने जस्ता क्रियाकलाप हुन नहुने विषय पनि मस्यौदामा थप गरिएको छ ।

शिक्षा, विकास तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले मुलुकको बदलिएको शासन प्रणाली र राज्यसंयन्त्र अनुरुप पुनरावलोकन गरी प्राप्त सुझावका आधारमा निर्दे्शिकालाई परिमार्जन गरिने जानकारी दिए । उनले समाजवादोन्मुख मुलुकका थालनी कक्षा कोठाबाट हुुनुपर्ने भन्दै विद्यार्थीलाई पठनपाठनमा कुनै अवरोध हुन नहुने ताए । निर्दे्शिकाअनुसार कार्यान्वयन केन्द्रीय संयोेजन समितिको संयोजक केन्द्रको महानिर्देशक रहने व्यवस्था छ ।

केन्द्रका निर्देशक गेहनाथ गौतमले सरकारी र नागरिक क्षेत्रको पहलबाट हालसम्म २८ जिल्ला विद्यालय शान्ति क्षेत्र कार्यान्वयनका दृष्टिले सफलता उन्मुख भएकाले आगामी दिनमा सबै जिल्लामा यसको प्रभावकारी कार्यान्वयन गराइने बताए । एक दिन विद्यालय बन्द हुँदा सामुदायिक र निजी गरी करीब ३५ हजार विद्यालयका ७८ लाख विद्यार्थी प्रत्यक्ष रुपमा प्रभावित हुन्छन् ।

पछिल्लो समयमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा समूह र अन्य समूहले विभिन्न मागमा आयोजना गरेका बन्द, हडतालले पढाइ प्रभावित हुँदै आएको छ । सञ्चार माध्यमका समाचार आधारमा शिक्षा पत्रकार समूहले २०७१ मा गरेको अध्ययनमा एक वर्षको अवधिमा पठनपाठन प्रभावित हुनेगरी कूल १४५ घटना भएका थिए । विद्यमान शिक्षा नियमावलीमा वर्षमा कम्तीमा १९२ दिन विद्यालय खुल्नुपर्ने व्यवस्था छ ।

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका (सिजप) संस्थापक अध्यक्ष कृष्ण सुवेदीले निर्दे्शिकालाई हालसम्म सबै विद्यालयमा लैजान नसकिएको स्थितिमा समग्र समीक्षा गरी निर्दे्शिका परिमार्जन हुनु आवश्यक भएको बताए ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष लक्ष्मण शर्माले सङ्घीयतामा मुलुक प्रवेश गरिसकेकाले निर्दे्शिकाले केन्द्रीयतामुखी नभई संविधान अनुकूल स्थानीय तहमा सहज कार्यान्वयन हुने मार्ग प्रशस्त गर्नुपर्ने र देशव्यापी रुपमा शिक्षकको पेसागत हकहितको विरुद्ध भइहरेको प्रहार रोक्न पनि नीतिगत संरक्षणको माग गरे ।

उनले प्रअको कार्यसम्पादनमा विद्यालय शान्ति क्षेत्रलाई पनि अभिन्न अङ्ग बनाउन सकिने सुझाव दिए । माओवादी सशस्त्र द्वन्द्वकालमा विद्यालयमा सरकार र विद्रोही पक्षबाट हिंसात्मक गतिविधि र राजनीतिक हस्तक्षेप भएपछि नागरिकस्तरबाट सन् २००३ मा सिजप नामक सञ्जाल गठन भई शान्ति क्षेत्रका लागि अभियान शुरु भएको थियो ।

विभिन्न समयमा मुलुकमा क्रियाशील राजनीतिक दलले विद्यालय शान्ति क्षेत्रको उलङ्घन नगर्ने सैद्धान्तिक सहमतिसहित हस्ताक्षर गरेका छन् । कतिपय दलले चुनावी घोषणापत्रमा यसको कार्यान्वयको प्रतिबद्धता पनि गरेका छन् । शिक्षक, विद्यार्थी सङ्गठनले पनि बेला बेलामा आफ्ना मागमा विद्यालय बन्द गराएका छन् । रासस

Womui
Womui