कर्मचारी समायोजनपछि गाउँपालिका रित्तै, ६१ दरबन्दी रहेकोमा २ कार्यरत

116

रुकुमपूर्व–यतिबेला जिल्लास्थित पुथा उत्तरगङ्गा गाउँपालिका कर्मचारीविहीन बनेको छ । समायोजन भएर कर्मचारी गएपछि गाउँपालिका कर्मचारीविहीन बनेको हो । ६१ जनाको दरबन्दी रहेको उक्त गाउँपालिकामा हाल दुई जना मात्र कर्मचारी छन् ।

क्षेत्रफलका हिसाबले जिल्लाको सबैभन्दा ठूलो सो स्थानीय तहमा १४ वडा छन् । सबै वडा खाली छन् । गाउँपालिकामा पहिले एक मात्र वडासचिव रहेका र एक जनाले वडा नं १० र ११ मा काम गर्दै आएका थिए । भएका एक सचिव पनि समायोजन भएर गएपछि गाउँपालिका नै वडासचिवविहीन बनेको हो । सडकको विस्तार नभइसकेको सो गाउँपालिकाको एउटा वडा कार्यालयबाट अर्को वडा कार्यालयमा पुग्न एकदेखि दुई दिन लाग्ने गर्दछ ।

भएका कर्मचारी पनि समायोजन भएर गएको तर समायोजन भएर गाउँपालिकामा कोही नआएको प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र बुढाक्षेत्रीले बताए । गाउँपालिकामा कर्मचारीको खडेरी भएपछि कार्यसम्पादनमा अफ्ठ्यारो भएको उनले बताए । कर्मचारी नभएपछि अहिले वडा कार्यालयमा वडा सचिवको काम स्वास्थ्यचौकी इन्चार्ज मार्फत भइरहेको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहीले बताइन् ।

साविकका गाविसमा रहेका स्वास्थ्यचौकी इन्चार्जले साविकका गाविसअन्तर्गत अहिले जति पनि वडा समेटिएका छन् तिनै वडा हेर्ने जिम्मा दिइएको उनले जानकारी दिए । यस्तै भुमे गाउँपालिकामा पनि पर्याप्त मात्रामा कर्मचारी छैनन् । ५४ जनाको दरबन्दी रहेको गाउँपालिकामा पाँच मात्र स्थायी कर्मचारी छन् भने १८ करार कर्मचारी छन् । नौ वडा रहेको गाउँपालिकामा वडा नं ३, ६ र ७ मा गरी जम्मा तीन मात्र वडासचिव छन् ।

पर्याप्त मात्रामा कर्मचारी नहुँदा कार्यसम्पादनमा असजिलो भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले बताए । कर्मचारी समायोजन भएर गएका तर, समायोजन भएर गाउँपालिकामा कोही पनि नआएकाले कार्यसम्पादनमा असहज भइरहेको गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताए । त्यसैगरी सिस्ने गाउँपालिकामा पनि पर्याप्त मात्रामा कर्मचारी छैनन् । जसले गर्दा कार्यसम्पादनमा अफ्ठ्यारो भइरहेको प्रमुख प्रशासकीय अधिकृत विमला रोकाले जानकारी दिइन् ।

३५ जनाको दरबन्दी रहेको गाउँपालिकामा नौ कर्मचारी स्थायी छन् भने तीन करार कर्मचारी छन् । भएका कर्मचारी समायोजन भएर गएपछि नयाँ केही मात्र आएकाले कामकाजमा समस्या भएको उनले बताइन् । आठ वडा रहेको गाउँपालिकामा वडा नं १, ४ र ६ नं वडा गरी जम्मा तीन वडामा मात्र वडासचिव छन् । अन्य वडामा कार्यालय सहायक र नजिकको स्वास्थ्यचौकी इन्चार्जले काम गरिरहेका प्रशासकीय अधिकृत रोकाले बताइन् ।

सङ्घीयताले जन्माएको कान्छो जिल्ला रुकुम (पूर्व) प्रदेश नं ५ को एक मात्र हिमाली जिल्ला हो । तीन गाउँपालिकामा गरी जम्मा ३१ वडा छन् । तीमध्ये सात वडामा मात्र वडासचिव छन् । बाँकी २४ वडामा वडासचिव छैनन् । वडासचिव नहुँदा वडाबाट हुने दैनिक कामकाजमा समस्या हुने गरेको छ ।
रासस

Womui
Womui