महिला नेतृत्वले विद्यालय सुध्रिए

30

लम्की– ललिता शाहीले विद्यालयको नेतृत्व सम्हाल्दा भवनको नाउँमा बाँसको टहरा मात्रै थियो । भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरका दृष्टिले विद्यालय निकै कमजोर थियो । अहिले त्यही विद्यालयमा ११ वटा पक्की भवन छन् ।

कुल ४० कक्षा कोठा र अन्य पूर्वाधार निर्माण भइसकेका छन् । उचित शैक्षिक वातावरणका कारण शिक्षक, विद्यार्थी र अभिभावक रमाएका छन् । शैक्षिक गुणस्तरमा विगतको तुलनामा सुधार आएको छ । शायद त्यसैले होला, गत जेठमा राजीनामा दिएकी कैलालीको टीकापुरस्थित जनजागृति माविकी प्रधानाध्यापक ललितालाई व्यवस्थापन समितिले विनयी शैलीमा भन्यो, ‘‘तपाईँले जिम्मेवारी छोड्न पाइँदैन ।

पद र जिम्मेवारी पाए जसरी पनि कुर्सीमा पुग्न लालायित हुने सामाजिक प्रवृत्तिका अगाडि आफ्नै कारणले राजीनामा दिन खोजेर पनि शाही जिम्मेवारी मुक्त हुन नपाउनुका पछाडि उहाँका केही प्राज्ञिक र व्यवस्थापकीय कुशलताले काम गरेको छ । ललिताले प्रअ छाडेर सेवाबाटै अवकाश लिने नभई त्यहीँका कुनै शिक्षकलाई प्रअ बनाउन र आफू शिक्षकमै कार्यरत रहन देखाएको सदाशयताको अहिले व्यवस्थापन समितिमा प्रशंसा भइरहेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मराज देवकोटा भन्छन्, ‘ललिता अनुशासित र कर्तव्यनिष्ट हुनुहुन्छ । जुन विद्यालयको प्रअ अनुशासित हुन्छ, त्यहाँ विद्यालयको प्रशासन बलियो र अनुशासित हुन्छ ।’ २०६१ जेठ १५ देखि प्रअको जिम्मेवारीमा रहेकी नेपाली विषय शिक्षक ललिताले आफ्नो विद्यालयमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सन्तोजनक रहेको र शिक्षकबीच सामूहिक भावना रहेको बताइन् ।

नौ सय विद्यार्थी रहेको सो विद्यालयमा पाँचजना स्थायी, छ जना राहत, दुई अनुदान, एक बाल विकास र अन्य कर्मचारी गरी २० जना शिक्षक÷कर्मचारी छन् । २०४३ सालमा स्थापित सो विद्यालयको पछिल्लो समयमा राम्रो नतिजा आएको छ । छात्रको तुलनामा छात्राको सङ्ख्या पनि वृद्धि भएको छ । जिम्मेवारी र वातावरण पाएमा नेतृत्व तहमा महिलाले पनि नतिजा दिने गरी काम गर्न सक्छन् भन्ने यो गतिलो उदाहरण हो ।

प्रअ पद विद्यालयको प्राज्ञिक नेतृत्व हो भने व्यवस्थापन समितिको सदस्यसचिव हो । स्थानीय तहमा विद्यालय तहको जिम्मेवारी हस्तान्तरण भएपछि सामुदायिक विद्यालयहरुमा एक प्रकारको चुनौती पनि थपिएको सन्दर्भमा ललिताजस्तै ज्ञानोदय प्रावि, टीकापुर ५ नुक्लीपुरकी महिला प्रधानाध्यापक हिरन चौधरीले पनि आठ वर्षदेखि उदाहरणीय रुपमा प्रअको जिम्मेवारी बहन गर्दै आएकी छन् । सो विद्यालयमा साना कक्षामा विद्यार्थी सङ्ख्या कम हुन थालेपछि गत वर्षदेखि ज्ञानोदयमा अङ्ग्रेजी माध्यमबाट समेत अध्यापन शुरु गरिएको छ ।

‘अंग्रेजी माध्यममा अध्यापन शुरु गरेपछि स–साना बालबालिका पनि यहीँ पढ्न थालेका छन् । कैलालीको पुरानो मध्येको एक त्रिभुवन राष्ट्रिय मावि, मौरनीयामा २०६८ सालमा विद्यालय व्यवस्थापन समितिले विद्यालयमै कार्यरत उल्का बिकलाई प्रअको जिम्मेवारी दिएपछि यहाँको शैक्षिक अवस्थामा सुधार आएको छ । देशभर २७ हजार ९१४ सामुदायिक विद्यालयमध्ये मुस्किलले १०० सामुदायिक विद्यालयमा महिला प्रअ छन् । विद्यालय तह (कक्षा १ देखि १२) सम्ममा कुल ७३ लाख ९१ हजार ५२४ विद्यार्थीमध्ये करीव एक हजारको सङ्ख्यामा छात्रा बढी छन् ।

काठमाडौँमा नक्सालको नन्दी रात्री, डिल्लीबजारको पद्मकन्या, कीर्तिपुरको जनसेवा, मध्यबानेश्वरको रत्नराज्यलक्ष्मीलगायत माविमा पनि हाल महिला प्रअले तुलनात्मकरुपमा राम्रो गरेका छन् । मुलुकभरका ३६ हजार ५६८ प्रारम्भिक बाल विकास केन्द्र (इसिडी) मा भने सबै महिला सहजकर्ता छन् । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५ ले शिक्षण सेवामा अपाङ्गता भएका, महिला, दलित र जनजातिको प्रवेशलाई प्रोत्साहन दिन र सशक्तीकरणको कार्यक्रम सञ्चालन गर्न सुझाव दिएको छ ।

प्रतिवेदनले ‘हाल १६ प्रतिशतमा रहेको महिला शिक्षकको सङ्ख्यालाई आगामी दश वर्षमा दोब्बर बनाएर ३३ प्रतिशत पु¥याउने र विद्यालयको नेतृत्वमा महिलाको उपस्थिति सुनिश्चित गर्न कानूनमा नीतिगत व्यवस्था गर्ने’ भनिएको छ । सो प्रतिवेदनलाई राष्ट्रिय शिक्षा नीतिका रुपमा कार्यान्वयन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयारी गरेको छ । सामुदायिक विद्यालय राष्ट्रिय महासङ्घका अध्यक्ष कृष्ण थापाले महिला प्रअहरुले आफ्नो जिम्मेवारी पुरुष प्रअको तुलनामा कुशलतापूर्वक निर्वाह गरेको अनुभव सुनाए । शिक्षा तथा समन्वय इकाई, कैलालीका प्रमुख प्रताप धामीले महिला शिक्षकले पुरुषको तुलनामा सिकाइ उपलब्धिमा उदाहरणीय कार्य गरेर देखाएको बताउनुभयो ।

पुरुष प्रअ रहेको टीकापुरको जनज्योति आधारभूत विद्यालय, ज्योतिनगर र कालिका आधारभूत विद्यालय राजीपुरको सिकाइ उपलब्धि वर्षेनी खस्केपछि नयाँ प्रअ नियुक्तिको प्रक्रिया शुरु भएको छ । इकाइका अनुसार जिल्लामा जम्मा ५६५ विद्यालय छन् जसमा ७२ वटा विद्यालय मात्र महिलाले नेतृत्व गरेका छन् । जिल्लामा ४९३ विद्यालयमा पुरुष प्रधानाध्यापक छन् भने ७२ विद्यालयमा महिला प्रअ छन् । त्यसमा पनि मावि तहका प्रधानाध्यापक महिला ५ जना मात्र छन् । निमावि तहका विद्यालयको प्रअमा ९ जना र प्रावि तहका ५८ विद्यालयमा महिला प्रअ छन् । टीकापुर नगरपालिकाका शिक्षा प्रमुख दमनसिंह चौधरी महिलाले सञ्चालन गरेका विद्यालयमा अनुशासन देखिने गरेको बताउँछन् । रासस

Womui
Womui