नेपाल–भारत संयुक्त आयोगको बैठक सम्पन्न, यी हुन् सहमति

38

छिनछिन खबर
काठमाडौँ – नेपाल–भारत संयुक्त आयोगको बैठकमा हुलाकी राजमार्ग, डुबान समस्या लगायतमा छलफल भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका विदेश मन्त्री सुव्रमण्यम जयशंकरको सहअध्यक्षतामा भएको बैठकमा दुवै देशका विदेशमन्त्रीले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।

बैठकमा दुवै पक्षले नेपाल–भारत सम्बन्धका सबै पक्षको समीक्षा गर्नुका साथै सम्पर्क सञ्जाल बिस्तार, आर्थिक साझेदारी, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत क्षेत्रका साथै संस्कृति र शिक्षामा केन्द्रित रहेर छलफल गरेका थिए । बैठकमा अन्तर्रा्ष्ट्रिय, क्षेत्रीय र उपक्षेत्रीय मञ्चहरुमा दुई देशबीच सहयोग आदानप्रदान गर्नेबारेमा पनि गहन छलफल भएको थियो ।

मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पदार्थको पाइपलाइन, हुलाकी राजमार्गका चारखण्ड निर्माणमा भएको प्रगति, भूकम्पपछि नुवाकोट र गोरखा जिल्लामा सर्वसाधाराणका आवास निर्माण सम्पन्न भएकामा आयोगको बैठकमा प्रशन्नता प्रकट भएको थियो ।

साथै बैठकमा जयनगर–जनकपुर, जोगमनी –विराटनगर, सीमा पार रेल परियोजना र विराटनगरमा एकीकृत जाँचचौकी निर्माणमा प्राप्त उपलब्धिको समीक्षा भएको थियो । भारतको सहयोगमा नेपालमा सञ्चालित विकास निर्माणका परियोजनालाई द्रुत गतिमा अघि बढाउन दुवै देशले सहमति जनाएको छन् ।

व्यापार पारवहन र रेलसेवासम्बन्धी सन्धि सम्झौतालाई शीघ्र निष्कर्षमा पु¥याउन सहमति भएको छ । सीमा क्षेत्रमा रहेका जनताका निम्ति डुबान एक गम्भीर समस्याका रुपमा रहेको स्वीकार गर्दै संयुक्त आयोगले पानीको प्राकृतिक बहाबमा अवरोध र उपयुक्त निकासको व्यवस्था नहुँदा डुबान समस्यालाई सम्बोधन गर्नुपर्नेमा बैठकले जोड दिएको छ । त्यस्तै दुवै देशका परराष्ट्रमन्त्रीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न तथा पर्यटन क्षेत्रमा सहयोगको स्तर अभिवृद्धि गर्न सहमति जनाएका छन् ।

Womui
Womui