दुई चालक नराख्‍ने लामो दुरीका सवारीमाथि कारबाही हुने

56

छिनछिन खबर
काठमाडौं–यातायात व्यवस्था विभागले लामो दुरीमा चल्ने सवारी साधानमा कम्तीमा दुई चालक नभए कारबाही गर्ने जनाएको छ । काठमाडौं भित्रिने लामो दुरीका सवारी साधनमा एउटै चालक राख्दा दुर्घटना हुने क्रम बढेपछि विभागले यस्तो तयारी गरेको हो ।

त्यस्तै अबदेखि ४ घण्टाभन्दा बढी दुरीमा चल्ने सार्वजनिक सवारीसाधन कम्तीमा आधा घण्टा रोकेर विश्राम गरी पुनः चलाउनु पर्नेछ । यस्तो नियम २ सय ५० किलोमिटरभन्दा बढी यात्रामा निस्कने सवारी साधनको हकमा कडाइ गरिने विभागले जनाएको छ । विभागका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा मुलुकभर ८ हजार ६ सय ११ सडक दुर्घटना भए । यी मध्ये सवारी चालकको लापरवाहीका कारणमात्र ७ हजार ५ सय २९ दुर्घटना हुन पुगे । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १०३ मा ‘४ घण्टाभन्दा बढीको दुरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारीले प्रत्येक ४ घण्टामा एकपटक आधा घण्टा विश्राम गर्नुपर्ने उल्लेख छ ।

ट्रफिक प्रहरीको एक अध्यायनले अधिकांश सडक दुर्घटना चालकको लापरवाहीका कारण हुने गरेको देखाएको छ । ७८ प्रतिशत दुर्घटना सवारी चालकको लापरवाहीले हुने गरेको पाइएको छ । त्यस्तै ३१ वर्षयता त्रिशूलीमा मात्र २ सय ६९ बस खसेको तथ्याङ्‍क छ । गत आर्थिक वर्षमा भएका दुर्घटनामा परी २ सय ५४ जनाको मृत्यु भयो । दुर्घटनामा ३ सय १७ गम्भीर घाइते र ५ हजार ८ सय ९० जना साधारण घाइते भएका थिए ।

ट्राफिक प्रहरीको तथ्याङ्‍कअनुसार गत वर्ष भएका दुर्घटनामा चालकको लापरवाहीका कारण ७ हजार ५ सय २९, तीव्र गतिका कारण ५ सय २५, मादकपदार्थ सेवन गरेका कारण २ सय ८३, यान्त्रिक गडबडीका कारण ६७, ओभरटेकका कारण ७५, पैदलयात्रुको लापरवाहीका कारण ३, सडकको अवस्थाका कारण २६ र अन्य (मौसम र चौपाय) का कारण ३ सडक दुर्घटना भएका थिए ।

Womui
Womui