छिनछिन खबर
काठमाडौं– शिक्षक सेवा आयोगले अबदेखि वस्तुगत खण्डको उत्तर पुस्तिका परीक्षण मेसिनबाट गर्ने भएको छ । अध्यापन अनुमति पत्र लाइसेन्सको परीक्षाबाट पहिलो पटक अप्टिकल मार्क रिडर (ओएमआर) मेसिनको प्रयोग गर्ने आयोगले जनाएको छ ।
मेसिनबाट परीक्षण गरिने उत्तर पानालाई मोड्न वा कुच्याउनु हुँदैन । त्यस्तो पानाको उत्तर मेशिनले पढ्न नसक्ने हुँदा परीक्षार्थीले वस्तुगत प्रश्नमा उल्लेख गरेको प्रश्नको सेट आफ्नो वस्तुगत उत्तर पानाको क, ख, ग वा घ मध्ये कुनै एकमा रहेको गोलाकार संकेतमा मसी भरेर चिन्ह लगाउनु पर्ने हुन्छ । वस्तुगत प्रश्नको उत्तर गलत भएमा प्रत्येक उत्तरको लागि २० प्रतिशत अँक कट्टा गरिने समेत आयोगले जनाएको छ ।
परीक्षालाई चुस्त र परीक्षणमा त्रुटि कम गर्ने तथा लाग्ने समय बचत गरी छिटो नतिजा निकाल्न प्रविधिको प्रयोग गर्ने निर्णय गरेको आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलियाले जानकारी दिए । यसअघि शिक्षा मन्त्रालयले एमविविएस परीक्षाको उत्तर पुस्तिका परीक्षण गर्नका लागि ल्याएको मेसिन खाली रहेकोले आयोगले सोही मेसिनको प्रयोग गर्ने भएको हो ।
लाइसेन्सको परीक्षा असोज ९ गतेदेखि ११ गते सम्म गर्ने गरी आयोगले तयारी गरेको छ । प्राथमिक तहको ९ गते माध्यमिकको १० गते र निम्न माध्यमिकको ११ गते गर्ने र सबै परीक्षा विहान ८ बजेबाट सुरु गर्ने गरी आयोगले मिति तय गरेको हो ।