नेपालगन्जका मुस्लिम समुदायले मनाउँदै ‘बक्रईद’

121

नेपालगन्ज, साउन २७-
मुस्लिम समुदायको महानपर्व बक्रईद सोमबारबाट सुरु भएको छ । तीन दिन सम्म मनाईने यस पर्वको पहिलो दिन नेपालगन्जका मुस्लिम समुदायले स्थानीय विपी चोकस्थित ईदगाहमा पुगेर सामुहिक नमाज पढेका छन् । नमाज पढ्ने मुस्लिम समुदायको ईदगाह क्षेत्रमा विशेष भिड लागेको थियो । बक्रईदको शुभकामना आदान प्रदान गर्न शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राई, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवलशम्शेर राणा लगायत विशिष्ट ब्यक्तित्वको उपस्थिती रहेको थियो । मुस्लिम समुदायले नमाज पढिसकेछि एक आपसमा शुभकामना आदान–प्रदान गरेका थिए । शुभकामना आदान–प्रदान गर्न गैर मुस्लिम समुदायपनि विपी चोक पुगेका थिए ।

आफ्नो समुदायको बक्रईद पर्वले देशमा शान्ति र सदभाव कायम गर्न मद्धत गर्ने मुस्लिम समुदायका अगुवा बताउँछन् । पुर्वसांसद एवम् मुस्लिम समुदायका अगुवा अब्दुल हमिद सिद्धिकी(भोला)ले भने, ‘मानव जातिले मानव जातिलाई सम्मान गर्ने सन्देश यो पर्वले दिएको छ ।’ देशमा शान्ति, सदभाव र अमनचयन कायम गर्न बक्रईदको अवसरमा अल्लाहसँग प्रार्थना गरेको उनले बताए । मानव जातिले मानव जातिलाई सम्मान गर्नु नै ठुलो धर्म रहेको सिद्धिकीको भनाई छ ।

बक्रईदमा मुस्लिम समुदायले राँगा, बोका, खसी लगायतको कुर्वानी(बलि) दिने चलन छ । जसले धेरै कुर्बानी गर्न सक्छ, उसलाई अल्लाह(भगवान)ले सबै थोक पुरा गरिदिने विश्वास गरिन्छ । बक्रईदले सबैलाई मिलेर बस्ने सन्देश दिएको मुस्लिम समुदायका अर्का अगुवा तथा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष मोहम्मद सफिक बेहनाले बताए । उनले भने, ‘बक्रईद पर्वले सबै समुदायबीच सामाजिक सद्भाव कायम गर्न टेवा पुर्याएको छ ।’ सबैले आ–आफ्नो घरमा कुर्बानी गरेर बक्रईद मनाउने चलन छ । कुर्बानीलाई तीन भाग लगाएर गरिव तथा आफन्तलाई बाडेपछि मात्र आफुले खाने चलन परम्परादेखी रही आएको छ । ‘जो धनी छ, उसले कुर्बानीलाई तीन भाग अनिवार्य लगाउनुपर्छ,’ बेहनाले भने ‘एक भाग गरिब तथा असहाय र एक भाग आफन्तलाई बाँडेर मात्र आफुले खानुपर्छ ।’

Womui
Womui