राप्तीसोनारीको ७६ करोड ८ लाख बजेट पारित

58

बाँके(अगैया), साउन २७-
राप्तीसोनारी गाउँपालिकाको पाँचौ गाउँ सभाले कुल ७६ करोड ८ लाख ३९ हजार बजेट पारित गरेको छ । गाउँपालिका कार्यालय अगैयामा सम्पन्न सभाले उक्त बजेट पारित गरेको हो । गाउँपालिका अध्यक्ष एवम् सभाध्यक्ष लाहुराम थारुको अध्यक्षतामा सम्पन्न उक्त सभामा आयतर्फ गाउँपालिकाको १८ करोड २९ लाख ३५ हजार, संघिय सरकारबाट प्राप्त ३३ करोड ४९ लाख र प्रदेश सरकारबाट प्राप्त २ करोड ५ लाख ४ हजार तथा सर्शत अनुदान अन्तर्गत संघिय सरकारबाट प्राप्त अनुदान २१ करोड र प्रदेश सरकारबाट प्राप्त अनुदान ८० लाख बजेट प्रस्तुत गरियो ।

यस्तै ब्ययतर्फ पुर्वाधार विकास, अािर्थक विकास, सामाजिक विकास, वन वातावरण तथा विपद ब्यवस्थापन, सुशासन तथा संस्थागत विकास, गाउँपालिकाको समपूरक कोष र प्रशासनिक तथा उपभोग खर्च(चालु) गरी कुल ५४ करोड २८ लाख ३९ हजार र संघिय सरकारबाट प्राप्त २१ करोड तथा प्रदेश सरकार ८० लाख गरी कुल ७६ करोड ८ लाख ३९ हजार बजेट प्रस्तुत गरिएको हो ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०७६÷७७ का लागि पुर्वाधार विकासतर्फ ७ करोडको लागतमा ३२ वटा पुर्वाधार विकास सम्बन्धी योजना पारित गरेको छ । यस्तै गाउँपालिका समपूरक अनुदानतर्फ ७० लाख बजेट विनियोजन गरिएको छ । गाउँपालिकाको वडा नम्बर १ र २ का लागि १ करोड ७५ लाख, वडा नम्बर ५, ८ र ९ मा १ करोड ५५ लाख तथा वडा नम्बर ३, ४, ६ र ७ का लागि १ करोड ५० लाखका दरले बजेट विनियोजन गरिएको छ ।

सभामा गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले प्रस्तुत गरेको बजेटलाई सभाका सदस्यले बहुमतको प्रक्रियाबाट पारित गरेका हुन् । सभाका सदस्यले उठाएका प्रश्नको जवाफ दिदै सभाका सभाध्यक्ष लाहुराम थारुले राप्तीसोनारी गाउँपालिकाको विकासका लागि हरेक विषयलाई बजेटले समेट्ने प्रयास गरेको बताए । ‘विगतका वर्षझै यसवर्ष पनि समग्र बजेट मिलाउने जिम्मा वडाध्यक्ष ज्यूहरुलाई दिइएको छ, उहाँहरुले आफै बजेट मिलाएर योजना आफै कार्यान्वयन गर्न पाउनु भएको छ,’ उनले भने । बजेट विनियोजनका लागि कार्यपालिका सदस्य समेत रहेका प्रत्येक वडाका वडाध्यक्षलाई आफुले जिम्मेवारी दिएको अध्यक्ष थारुले बताए । ‘गाउँपालिकाको विकास गर्ने तपाई हाम्रो धेरै जिम्मेवारी छ, त्यसकारण विनियोजन भएको बजेट अनुसार काम पनि गर्नुस्,’ थारुले भने ।

सभाका सदस्यले जिज्ञासाको जवाफ दिदै प्रमुख प्रशासकीय अधिकृत बीरेन्द्रबहादुर माझीले प्रदेश सरकारले निर्धारण गरेको निर्देशिका अनुसार नै जनप्रतिनिधीले सेवा, सुविधा प्राप्त गर्ने प्रष्ट्याए । सो क्रममा सभाका सदस्य एवम् वडाध्यक्षहरु जनकराम थारु, राम लखन थारु, मदनकुमार ओली तथा सभाका सदस्य तथा वडासदस्य धनसरी ओली, टिकाराम बस्नेत, रति ओली, ताराप्रसाद कसेरा, रुद्रमणि ढकाल लगायतले जिज्ञासा तथा सुझाव राखेका थिए । गत असार ९ गतेबाट सुरु भएको सभा करिव डेढ महिनासम्म चलेको थियो । पहिलो दिन नीति तथा कार्यक्रम र असार १० गते बजेट प्रस्तुत गरिएको थियो । त्यसपछि असार १८ सभाको मिति तोकिएपनि विविध कारणले गर्दा बस्न सकेको थिएन । त्यसपछि साउन २२ गते सभा बसेपनि राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ का वडासदस्य तथा गाउँसभा सदस्य पञ्चराम थारुको निधनप्रति शोक ब्यक्त गर्दै सभा आइतबारका लागि सारिएको थियो ।

Womui
Womui