आफ्नै लगानीमा बिद्युत बिस्तार गर्दै राप्तीसोनारी गाउँपालिका

98

बाँके (अगैया), साउन २६-
बाँकेको एक स्थानीय सरकारले बर्षौदेखी अन्धकारमा रहेको राप्तीपारी क्षेत्रमा आफ्नै लगानीमा बिद्युत बिस्तार गर्न लागेको छ । बाँकेको राप्तीसोनारी गाउँपालिकाले वडा नम्बर ३, ४ र ५ मा बिद्युत बिस्तार गर्न आवश्यक प्रक्रिया अगाडी बढाएको हो । उक्त गाउँपालिकाको वडा नम्बर ४ धामपुरमा बिद्युत सवस्टेशन निर्माण भएपनि कोहलपुर–धामपुर ३३ केभी प्रशारण लाईनको काम ठेकेदारको ढिलासुस्तीले विगत एक दशकदेखी अलपत्र छ । काम अलपत्र पार्ने ठेकेदारसँगको ठेक्का सम्झौता नेपाल बिद्युत प्राधिकरणले तोडेपनि विवाद साम्य हुन सकेको छैन । राप्तीपारी बिद्युतीकरणका विषयमा बाँके आईपुगेका उर्जामन्त्रीले धेरै पटक आश्वासन मात्रै बाँडे ।

प्रतिवद्धता अनुसार राप्तीपारी क्षेत्रमा बिद्युत सेवा पुर्याउन सकेनन् । राप्तीपारीका बासिन्दाको बिजुली बाल्ने सपना पुरा गर्न गाउँपालिकाको आफ्नै लगानीमा बिद्युत बिस्तार गर्न लागिएको अध्यक्ष लाहुराम थारुले बताए । गाउँपालिकाको वडा नम्बर १ स्थित ‘कुसुम सामुदायिक ग्रामिण बिद्युत सहकारी संस्था लिमिटेड’ मार्फत ११ केभी प्रशारण लाईन वडा नम्बर ३, ४ र ५ मा बिद्युत विस्तार गर्ने प्रक्रिया अगाडी बढाईसकेको छ । चालु आर्थिक वर्ष २०७६/७७ भित्र सबैभन्दा नजिक रहेको वडा नम्बर ३ सम्म बिद्युत बिस्तार गर्ने र लगत्तै वडा नम्बर ४ र ५ मा पनि काम थाल्ने गाउँपालिकाको योजना छ ।

बिद्युतीकरणका लागि गाउँपालिकाले यसवर्ष एक करोड ३९ लाख रुपैयाँ छुट्याईसकेको अध्यक्ष थारुले जानकारी दिए । ‘हाम्रो गाउँपालिकाको ३, ४ र ५ वडा मात्र अन्धकार छ, बिद्युतको आशा गरेर बस्दा बस्दै दशकौं समय बितिसक्यो,’ उनले भने ‘यि वडामा जनताबाट बिद्युतको माग धेरै भईरहेको हुँदा गाउँपालिकाको आफ्नै लगानीमा वडा नम्बर १ बाट लाईन बिस्तार गर्न लागिएको हो ।’ गाउँपालिकाले बिद्युत बिस्तारको काम गर्न थालेपछि राप्तीसोनारीको वडा नम्बर ३, ४ र ५ का स्थानीय बासिन्दा हर्षित भएका छन् । बर्षौदेखीको बिद्युत बाल्ने सपना छिट्टै पुरा हुने उनीहरुको अपेक्षा छ ।

‘बिद्युतको काम बर्षौैदेखी अलपत्र पारेर ठेकेदारले हामीलाई धोका दिएको अवस्थामा गाउँपालिकाले महत्वपुर्ण कदम अगाडी बढाएको छ, यसबाट हामी अत्यन्त खुसी छौं,’ बैजापुरका स्थानीय राम लौटन थारुले भने । बिद्युत लाईन विस्तार गर्न अहिले सर्भेको काम सुरु भईसकेको कुसुम सामुदायिक ग्रामिण बिद्युत सहकारी संस्था लिमिटेडले जनाएको छ । नेपाल बिद्युत प्राधिकरणका प्राविधिकले वडा नम्बर १ को सिक्टा गाउँदेखी वडा नम्बर ३ सम्म सर्भेको काम सुरु गरेको संस्थाका कोषाध्यक्ष गेहेन्द्रकुमार खड्काले बताए । ‘बिद्युत लाईन सिक्टाबाट सिधैं नदीपारीको सामुदायिक वन हुदै वडा नम्बर ३ सम्म बिस्तार गर्ने योजना छ,’ उनले भने । सर्बेको काम सम्पन्न भएपछि लागत स्टिमेट तयार हुने खड्काले बताए ।

उनले थपे, ‘हामीसँग रहेको बिद्युत ११ केभी क्षमताको रहेको छ, तर अहिलेसम्म वडा नम्बर १ भित्र २५ प्रतिशत मात्रै उपयोग भईरहेको छ, अझै ७५ प्रतिशत बिद्युत हामी खपत गर्न सक्छौं, सोही अनुरुप वडा नम्बर ३, ४ र ५ लाई बिद्युत बेच्न लागेका हौं ।’ सहकारी संस्थाले आफ्नो बिधानमा पनि राप्ती सोनारी गाउँपालिका वडा नम्बर १, २, ३, ४ र ५ लाई कार्यक्षेत्र तोकेको छ । कुसुमको बिद्युतले राप्तीसोनारीको वडा नम्बर ३, ४ र ५ लाई सजिलैसँग पुर्याउन सक्ने सहकारी संस्थाले जनाएको छ । अबको ६ महिनाभित्रमा राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ मा बिद्युत लाईन बिस्तार गरिसक्ने लक्ष्य राखिएको छ ।
-नागरिक पश्चिमेलीबाट

Womui
Womui