महालेखाले भन्यो–म्यानपावर व्यवसायीसँग १३ करोड असुल

43

छिनछिन खबर
काठमाडौं– कामदारसँग ठूलो रकम असुल गरेर सरकारलाई थोरै कर तिर्दै आएका म्यानपावर व्यवसायीले ठगी गरेको रकम बुझाउनु पर्ने भएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार वैदेशिक रोजगार व्यवसायीहरूले कर छल्ने गरेको र त्यस्तो रकम तत्काल असुलउपर गर्न निर्देशन दिएको हो ।

वैदेशिक रोजगार व्यवसायीहरुले टिकट खरिद तथा बिक्रीमा आय व्याय नदेखाएको तथा त्यसबाट हुने लाभसमेत कहीँ कतै उल्लेख नगरेको भन्दै त्यस्ता वैदेशिक रोजगार व्यवसायीको आय व्याय छानबिन गरी करको दायरामा ल्याउन तथा छुट भएको करसमेत असुल गर्न निर्देशन दिइएको हो । प्रतिवेदनअनुसार वैदेशिक रोजगार व्यवसायीले टिकट खरिद गर्दा खरिद गरेको रकम आयमा नदेखाएको र त्यसबाट हुने आम्दानीसमेत लुकाएको भन्दै १३ करोड २७ लाख रुपैयाँ शुल्क तथा त्यसको ब्याजसमेत असुल गर्न निर्देशन दिइएको हो । आयकर ऐन, २०५८ को दफा ७ अनुसार सेवा शुल्कलाई समेत आयमा समावेश गर्नुपर्ने उल्लेख छ ।

तर, ठूला करदाता कार्यालय अन्तरगतका हवाई टिकट बिक्री तथा कारोबार गर्ने करदाताको सम्परीक्षण गर्दा टिकट व्यवसायीले टिकट बेचेको देखाएपनि वैदेशिक रोजगार व्यावसायीले भने खरिद गरेको नदेखाएको भन्दै वैदेशिक रोजगार व्यावसायीले कर छली गरेको औंल्याइएको हो । प्रतिवेदनमा विभिन्न वैदेशिक रोजगार व्यावसायीले ९० करोड ८ लाख ९६ हजारको टिकट खरिद गरेको देखिएको छ । तर, त्यही आर्थिक उनीहरूको जम्मा आम्दानी भने ३७ करोड २ लाख ५१ हजार रुपैयाँ मात्रै देखाइएको छ ।

यसरी आम्दानी नै नदेखाएको तर खर्च भएको रकम ९० करोड रुपैयाँभन्दा बढी भएपछि ती व्यवसायीले आम्दानी नदेखाई कर लुकाएको महालेखा परीक्षकको ठहर छ ।
त्यसै आधारमा ९० करोड ८ लाख ९६ हजारको खरिद तथा ३७ करोड २ लाख ५१ हजारको मात्रै आम्दानी देखाएको कारण आम्दानी नदेखाएको बाँकी ५३ करोड ६ लाख ४२ हजार रकमको २५ प्रतिशतले हुन आउने कर अर्थात् १३ करोड २६ लाख ५८ हजार रुपैयाँ असुल गर्न तथा उक्त कर नबुझाएको अवधिको ब्याजसमेत असुल गर्न निर्देशन दिएको हो ।

Womui
Womui