‘पुरानो स्टक’ देखाउँदै राप्तीसोनारीका खोला नालाबाट अवैध चोरी निकासी

116

नेपालगन्ज, असार २७-
राप्तीसोनारी गाउँपालिका क्षेत्रमा रहेका खोलानालामा चोरी बढेको छ । गाउँपालिकाले उक्त क्षेत्रका खोलामा गत जेठ मसान्तबाट सामाग्री संकलन बन्द गरेको थियो । बन्द अवस्थामा रहेका खोलामा अवैध रुपमा चोरी निकासी बढेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ बेलबास गाउँस्थित परुवा खोलाबाट शुक्रबार ग्राभेल उत्खनन र चोरी गरिरहेको अवस्थामा भे१ख २१५२ नम्बरको टिपर र एउटा एक्साभेटर फेला पारिएको छ । एक्साभेटरको नम्बर राखिएको छैन ।

परुवा खोलाबाट अबैध रुपमा सामाग्री चोरी गरिरहेको अवस्थामा टिपर र एक्साभेटरलाई फेला पारी पहिलो पटकका लागि जरिवाना गरेर छाडिएको राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष धनीकुमारी खत्रीले जानकारी दिईन् । राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ स्थित शम्शेरगन्जमा हुलाकी सडकका लागि सामाग्री संकलन गर्ने भन्दै दुई वर्षदेखी क्रसर उद्योग सञ्चालनमा छ । अधिकांस टिपरले सोही क्रसरलाई देखाएर खोलाको सामाग्री अवैध रुपमा बोक्ने गरेको उपाध्यक्ष खत्रीले बताईन् । ‘अहिले सबै खोलानाला बन्द छन्, यसअघि घाटगद्दी गरिएको सामाग्रीको नापजाँच भएको छैन, तर टिपरहरुले पुरानो स्टक देखाउँदै खोलाबाटै माल बोक्ने रहेछन्,’ उनले भनिन् । खोलाको छेउमा चोरेर राखिएको स्टक पनि फेला पारिएको उनले बताईन् ।

खोलामा अबैध चोरी निकासी नियन्त्रण गर्न हम्य हम्य परेको उनको भनाई छ । प्रहरीको सहयोगमा शुक्रबार नियन्त्रणमा लिइएका टिपर र एक्साभेटरलाई पहिलो पटकका लागि २५ हजार रुपैयाँ जरिवाना गराएर छाडिएको उपाध्यक्ष खत्रीले जानकारी दिईन् । खोलामा बढेको चोरी निकासी नियन्त्रण गर्न गाउँपालिकाले विशेष निगरानी बढाउने गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताएका छन् । ‘खोलामा बढेको चोरी निकासी रोक्न गाउँपालिकाले विशेष निगरानी बढाउँछ, पहिलो पटकका लागि जरिवाना गराउने, त्यसपछि पनि अटेरी गर्नेलाई कानुनी कारबाही गरिनेछ,’ उनले भने ।

Womui
Womui