डेंगु नियन्त्रण गर्न खजुरामा लार्भा नष्ट गर्ने अभियान

109

नेपालगन्ज, असार २५-

डेंगु रोग नियन्त्रणका लागि बाकेको खजुरा गाउँपालिकाले लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरेको छ । गाउँपालिका वडा नम्बर ३ र ४ लाई लक्षित गरी उक्त अभियान सुरु गरिएको हो । दुई दिने अभियानअन्तर्गत वडाका प्रत्येक टोलमा पुगेर लामखुट्टेका लार्भा नष्ट गर्नुका साथै सर्वसाधारणलाई समेत सचेतना जगाइने खजुरा गाउँपालिका वास्थ्य शाखा प्रमुख पूर्ण खड्काले बताए ।

उनले डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेका लार्भा र फूल नष्ट गर्ने बताए । पोथी लामखुट्टेको टोकाईबाट लाग्ने डेंगुको उपचार नहुने बताउँदै प्रमुख खड्काले नियनत्रण गर्न सकिने तर निर्मुल नहुने बताए । उनले डेंगु रोग नियन्त्रणका लागी स्वास्थ्य कर्मीहरुलाई प्रशिक्षणसमेत दिइएको र यसका लागि बजेट पनि छुट्टयाएको जानकारी दिए । यही असार २५ र २६ गते दुई दिने लार्भा नष्ट गर्ने अभियानमा ३३ जना महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरि सर्च र नियन्त्रण अभियान चलाईने स्वास्थ्य शाखाकी लक्ष्मी केसीले बताइन् ।

महिला स्वास्थ्य स्वयं सेविकालाई दुई दिनसम्म अभिमुखीकरण गरेर फिल्डमा खटाइने उनले जानकारी दिइन् । अभियानको उद्घाटन गर्दै गाउँपालिका उपाध्यक्ष एकमाया विकले डेंगु रोग लाग्नै नदिनु नै उत्तम उपाय भएको बताइन् । उनले गाउँ वस्तीमा पानी धेरै जम्नु र तराईको हावापानी गर्मी धेरै हुने हुँदा बाहिर बस्नु पर्ने बाध्यता भएको बताउदै डेंगु रोग लाग्नबाट रोक्न महिला स्वास्थ्य स्वयं सेविकाको एकदमै ठूलो भूमिका हुने बताईन् ।

 

Womui
Womui