डुडुवा गाउँपालिकाको ३८ करोडबढी बजेट पारित

46

नेपालगन्ज, असार २५-

बाँके डुडुवा गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ को बजेट पारित गरेको छ । असार १० गते बसेको बैठकले बजेटका बारेमा छलफल गरि बुधबार सर्वसम्मत रुपले पारित गरेको हो । ५ औ गाउँसभामा अध्यक्ष नरेन्द्रकुमार चौधरीले आर्थिक वर्ष २०७६/०७७ को संघ, प्रदेश र गाउँपालिकाको आन्तरिक स्रोत गरि कुल ३८ करोड ४० लाख २२ हजारको बजेट प्रस्तुत गरेका थिए ।

संघीय सरकारको ३३ करोड ५ लाख, प्रदेश सरकारको २ करोड ४७ लाख २२ हजार र गाउँपालिकाको आन्तरिक स्रोततर्फ २ करोड ८८ लाख बजेट रहेको छ । अहिलेको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पशु, बन बातावरण तथा विपद् व्यवस्थापनका क्षेत्रमा विशेष कार्यक्रम र पूर्वाधार निमार्णका योजनालाई प्राथमिकतामा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद धितालले बताए ।

गाउँपालिकाले किशोरीलाई उच्च शिक्षा अध्ययन गर्नका लागि जन्मिने वित्तिकै शिशु बालिकाको कन्या मुद्दती शिक्षा योजना, एसइई पास भएका किशोरीलाई विशेष प्रोत्साहन, सामुदायिक विद्यालयहरुमा कक्षा १, २ र ३ मा अंग्रेजी माध्यममा अध्यापन, अपागंता भएकाहरु ग र घ श्रेणीलाई सेवा सुविधा र गाउँपालिकाले यसअघि सञ्चालन गर्दै आएको प्रत्येक घरमा पशु र स्वास्थ्य सेवा अभियानलाई थप प्रभावकारी बनाउने यसवर्षको नीतिअनुसारनै बजेट विनियोजन गरिएको अध्यक्ष चौधरीले बताए ।

यसैगरि गाउँपालिकामा रहेका सरकारी तथा ऐलानीप्रति र सार्वजनिक जग्गा अतिक्रमण रोक्ने, अतिक्रमित जग्गालाई नियन्त्रणमा लिने, सरकारी ऐलानी जग्गाको लगत संकलन गरि व्यवस्थापन गरिने, सबै वडाहरुमा इन्टरनेट सेवा विस्तार गरि घरदैलो अभियानमार्फत पञ्जीकरण सेवा सञ्चालन गरिने, पारदर्शिता र सुशासनका लागि खुल्ला सरकार नागरिक साझेदारीको अवधारणालाई कार्यान्वयन गरिने, सूचना सञ्चार प्रविधीको विकास गरि अनलाईन प्रणालीमार्फत सेवा प्रवाह गरि प्रभावकारी बनाइने, कृषिको आधुनिकीकरण, पर्यटन क्षेत्रको विकासका लागि पनि बजेट छुट्टाइएको छ ।

प्रस्तुत बजेटमाथि वडाध्यक्षहरु मोहनराम मिश्र, भण्डारीलाल यादव, प्रशुराम बुढाथोकी, सगिर खाँलगायतले योजनाबारे धारणा राखेका थिए । पारित भएको बजेटअनुसार विकास निर्माण र सबै योजनाको प्रभावकारिताका लागि नयाँ आर्थिक वर्षको शुरुवातदेखिनै कार्यन्वयनको पहल गरिने गाउँपालिकाले जनाएको छ ।

Womui
Womui