तरकारीको विषादी जाँच सुरू गर्न एक वर्ष लाग्छः कृषि मन्त्री

122

छिनछिन खबर
काठमाडौं–कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले भारतलगायत तेश्रो मुलुकबाट आयात गरिने फलफूल तथा तरकारीको विषादी परीक्षणको काम सुरु गर्न कम्तीमा एक वर्ष लाग्ने बताएका छन् ।

तेश्रो मुलुकबाट आयात हुने फलफूल र तरकारीमा ६ महिनाका लागि विषादी परीक्षण नगर्ने सरकारको निर्णयको चौतर्फी विरोध भइरहेका बेला कृषि मन्त्री खनालले एकीकृत विषादी परीक्षणको सुरुवात गर्न कम्तीमा एक वर्ष लाग्ने बताएका हुन् ।

राष्ट्रियसभामा विनियोजन विधेयकमा उठेका प्रश्नको सम्बोधन गर्ने क्रममा उनले सरकारले पूर्वाधार निर्माण गरी ६ महिनापछि परीक्षण सुरु गरिने भनेपनि सो अवधिमा घोषणा गरिए अनुसार एकीकृत र प्रविधियुक्त परीक्षण सुरु गर्न नसकिने बताए । केन्द्रीय प्रयोगशालाले २९ वटा विषादीका समूहको परीक्षण गर्ने भएपनि बाँकीमा २ वटा प्यारामिटर मात्रै चेक हँुदै आएको उनले बताए ।

चेकजाँच गर्ने सरकारको निर्णय कार्यान्वयनका लागि आफूले खाद्य, पशु र प्लान क्वारेन्टाइन अन्तर्गतका १४ वटा क्यारेन्टाइन थप निर्माण गर्नुको साथै ३ सय १२ जना कर्मचारी थपेर व्यवस्थित बनाउने काम गरेको पनि उनले बताए । तर वाणिज्य र कृषि मन्त्रालयसँग सम्बन्धित कतिपय विषयमा एउटाले गरेको निर्णय अर्को मन्त्रालयले कार्यान्वयन गर्नुपर्ने अवस्था रहेकाले तत्कालका लागि पूर्वाधार नभएको भन्दै परीक्षण रोक्न वाणिज्यले गरेको प्रस्ताव पास भएपछि आफूले त्यसैको कार्यान्वयन गुर्नपर्ने उनले स्पष्ट पारे ।

असार २ गते राजपत्रमा प्रकाशित गरी आयातित तरकारी तथा फलफुलमा विषादी परीक्षण गर्ने निर्णय गरेको सरकारले आफ्नै निर्णय उल्टाउँदै तत्कालका लागि विषादी परीक्षण नगर्ने निर्णय गरेपछि सर्वत्र विरोध हुँदै आएको छ ।

Womui
Womui