राउटेलाई हेर्न शुल्क, कसलाई कति ?

112

छिनछिन खबर
दैलेख– राउटे बस्तीमा प्रवेश गर्दा अबदेखि जो कोहीले शुल्क तिर्नुपर्ने भएको छ । राउटेहरुको परम्परागत संस्कार र संस्कृति लोप हुँदै गएको र विकृति बढ्दै गएको भन्दै गुराँस गाउँपालिकाले बस्ती हेर्न जानेसँग शुल्क लिने निर्णय गरेको हो । राउटे समुदायको संरक्षण र सुरक्षाका लागि बस्ती हेर्न जानेसँग शुल्क लिन थालिएको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताए ।

गाउँपालिकाले गाउँपालिकाभित्रका नागरिकसँग १०, नेपाली नागरिकसँग २०, विदेशी नागरिकसँग ५ सय, अडियो र भिडियो डकुमेन्ट्री मोबाइलका लागि १ सय, अडियो, भिडियो र क्यामेराका लागि १ हजार रुपैयाँ शुल्क तोकेको छ । शुल्क तोकिएको बोर्ड राउटे बसोबास क्षेत्र प्रवेशद्वारमै राखिएको छ । गाउँपालिकाका अध्यक्ष ओलीका अनुसार बस्ती प्रवेशका लागि शुल्क लिन थालेपछि राउटे बस्तीमा मनपरि रुपमा प्रवेश गर्नेको सङ्ख्या घटेको छ ।

बस्ती हेर्न जानेबाट उठेको रकम राउटे समुदायको उत्थान र संरक्षणमा लगाउने अध्यक्ष ओलीले बताए । अहिले राउटे समुदाय बसेको क्षेत्र गुराँस–५ कान्छी बजारको खुला चौरलाई डोरीको सहायताले घेरबार गरिएको छ । गाउँपालिकाले बस्ती प्रवेश गर्नेका लागि शुल्क उठाउन दुई कर्मचारी खटाएको छ । हाल दैलेखमा राउटे समुदायको जनसङ्ख्या १ सय ४६ छ ।

Womui
Womui