रकम लिँदै, विद्यार्थी पास गराउँदै

38

छिनछिन खबर
काठमाडौं– त्रिभुवन विश्व विद्यालय परीक्षामा रकम लिएर विद्यार्थीलाई पास गराउने गिरोह सक्रिय रहेको पाइएको छ । सोही गिरोहमध्येका केहीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ । त्रिवि परीक्षा नियन्त्रणको आवरणमा फेल भएका विद्यार्थीहरुबाट मोटो रकम लिएर पास गराउने गिरोहलाई नियन्त्रणमा लिएको हो ।

अख्तियारले परीक्षा नियन्त्रण कार्यालय गोप्य शाखाका प्रमुख रामु कर्मचार्यसहितको टोलीलाई पक्राउ गरेको हो । उनीहरुले परीक्षामा फेल भएका विद्यार्थीहरुबाट मोटो रकम लिएर पास गराउने गरेको सूचना प्राप्त भएपछि अख्तियार टोलीले उनीहरुको पिछा गरेको थियो ।

गोप्य सूचनाका आधारमा अधिवक्ता समेत रहेका विद्यार्थी सुरेन्द्र कोइरालाबाट स्नातकोत्तर तह अर्थशास्त्र विषयमा सबैभन्दा बढी अंक हालिदिन कर्मचार्य र कोइरालाबीच आर्थिक लेनदेनको जानकारी पाएपछि अख्तियारले उनीहरुको पिछा गरेको थियो । कर्मचार्य गत साता पक्राउ परेका थिए भने कोइराला बुधबार पक्राउ परेका छन् ।

कोइरालाले यसअघि ४ वटा विषयमा स्नातकोत्तर तह पास गरेका थिए । र, उनी अर्थशास्त्र विषयमा पाटन क्याम्पसमा स्नातकोत्तर तह अध्ययनरत थिए । उनलाई स्नातकोत्तर तहमा ‘गोल्ड मेडलिष्ट’ हुने रहर जागेको थियो । त्यही रहरलाई पूरा गर्न कोइराला विचौलियामार्फत परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखा प्रमुख कर्मचार्यसँग सम्पर्क भएको थियो । उनीहरुबीच मोटो रकमको डिल भएपछि कर्मचार्य कोइरालालाई पर्याप्त नम्बर थपेर ‘गोल्ड मेडलिष्ट’ बनाउन तयार भएका थिए ।

अन्तत उनीहरु दुबै अख्तियारको फन्दामा परेका हुन् । अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले कर्मचार्य र कोइराला प्रक्राउ परेको जानकारी दिए । उनले थप अनुसन्धान भइरहेकाले विस्तृतमा जानकारी दिन नमिल्ने बताए ।

Womui
Womui