स्थानीय तहमा बजेट विनियोजन, नेताका गाउँमा धेरै बजेट

111

छिनछिन खबर
काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको लागि स्थानीय तहलाई दिने वित्तीय हस्तान्तरण अन्तरगतको बजेट सार्वजनिक गरेको छ । संघीय सरकारले समानीकरण र सशर्त अनुदान गरी ७५३ स्थानीय तहलाई ३ खर्ब १३ अर्ब ६६ करोड ५५ लाख रुपैयाँ बजेट दिएको हो ।

अर्थ मन्त्रालयका अनुसार महानगरपालिकाहरुलाई ७ अर्ब ७५ करोड १४ लाख रुपैयाँ बजेट दिइएको छ । देशभर ६ महानगर छन् । यस्तै सरकारले उपमहानगरपालिकाहरुलाई ७ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ । नगरपालिकाहरुलाई ९५ अर्व २८ करोड ९९ लाख रुपैयाँ बजेट दिइएको छ । यस्तै गाउपालिकाहरुलाई १ खर्ब २ अर्ब ७८ करोड ४६ लाख रुपैयाँ बजेट दिइएको छ ।

यस्तो बजेटमध्ये वित्तीय समानीकरण अनुदानमा १ खर्ब ४५ अर्ब २४ करोड ५६ लाख रुपैयाँ छ भने सशर्त अनुदानमा १ खर्ब ६८ अर्ब ४१ करोड ९९ लाख रुपैयाँ बजेट दिइएको छ । मन्त्रालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकालाई ४९ करोड ६८ लाख रुपैयाँ बजेट दिइएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको गृहनगर गौरादह नगरपालिकालाई ३६ करोड ५८ लाख रुपैयाँ बजेट दिइएको छ ।

यस्तै पूर्वप्रधानमन्त्री तथा नेकपाका प्रभावशाली नेता माधवकुमार नेपालको गृहनगर गौर नगरपालिकाले २७ करोड ७६ लाख रुपैयाँ बजेट पाएको छ । यस्तै नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहनगर भरतपूर महानगरपालिकाले १ अर्ब ३२ करोड ४४ लाख रुपैयाँ अनुदान केन्द्र सरकारबाट पाएको छ । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाको निर्वाचन क्षेत्रमा परेको गैडाकोट नगरपालिकाले ३८ करोड ६४ लाख रुपैयाँ अनुदान पाएको छ ।

नेकपा महासचिव विष्णु पौडेलको गृहनगर बुटवल उपमहानगरले ५८ करोड ८७ लाख रुपैयाँ अनुदान पाएको छ । कृषि विकास मन्त्री चन्द्रप्रकाश खनालको गृहनगर कपिलवस्तु नगरपालिकाले ४५ करोड २७ लाख रुपैयाँ अनुदान पाएको छ । प्रतिनिधिसभाका सभामुख कृष्णवहादुर महराको गृहनगर घोराही उपमहानगरले ८७ करोड ११ लाख रुपैयाँ अनुदान पाएको छ । नेकपा प्रभावशाली नेता भीम रावलको गृहनगर साँफेवगर नगरपालिकाले ४२ करोड ९० लाख रुपैयाँ बजेट पाएको छ ।

यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाको गृहनगर गन्यापधुरा गाउँपालिकाले १९ करोड ३१ लाख रुपैयाँ बजेट पाएको छ । पहुँचवाला नेताका पालिकालाई बढी बजेट विनियोजन गरिएको देखिएको छ । जसले गर्दा विकासमा समानता हुन नसक्ने अर्थविदहरूको भनाइ छ ।

Womui
Womui