शिक्षिकाको कुटाइबाट पाँच विद्यार्थीको हात भाँचियो, ९ घाइते

53

दाङ–रोल्पाको रुम्टीगढी गाउँपालिका–८ स्थित भानु आधारभूत विद्यालयकी एक शिक्षिकाको निर्मम कुटाइबाट १४ विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये कतिपयको हात नै भाँचिएको छ । सो विद्यालयकी शिक्षिका लक्ष्मी पुनले विद्यालयमा ढिलो गरी आएको भन्दै ती विद्यार्थीमाथि कुटपिट गरेकोे समाचार राजधानी दैनिकमा छापिएको छ ।


घाइते हुनेमा कक्षा १ मा पढ्नेदेखि ८ कक्षासम्म पढ्ने विद्यार्थी छन् । घाइतेमध्ये भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र विमला रोकाको हात आइतबार दाङको तुलसीपुरस्थित सहारा पोलिक्लिनिकमा प्लास्टर गरिएको छ । उपचारमा संलग्न डा.घनश्याम शर्माका अनुसार घाइते बालिकाको जोर्नी, नाडी, कुइनो र कुममा समस्या देखिएको एवं अनुहार तथा हातसमेत सुन्निएको छ । जोर्नीमा दबाब देखिए पनि केही दिनपछि सुधार आउन सक्ने डा.शर्माले बताए । शिक्षिका पुनले विद्यालय ढिलो आएको भन्दै अन्धाधुन्ध लौराले कुटेको घाइते बालिका भीमकुमारी बाँठाले बताइन् ।]

‘विद्यार्थीहरू लाइन लाग्दै थिए, हामी पनि स्कुलमा आइपुग्यौं,’ बाँठाले भनिन्, ‘मिसले किन ढिलो आयौ भनेर हामीलाई लौराले धमाधम हान्न थाल्नुभयो । अरू शिक्षकशिक्षिका हेर्न नसकेर अफिसतर्फ दौडिनुभयो ।’ शिक्षिकाको कुटाइबाट घाइते हुने अन्य विद्यार्थीमा प्रेम पुन, सन्तोष बुढा मगर, दीपा बाँठा, वीरबहादुर घर्ती, अरुणा पुन, सुशीला विक, विपना घर्ती, मनकुमारी घर्ती र पूर्णकली छन् । दुखाइका कारण रातदिन सताउने र लेख्न, पढ्नसमेत नसकेको अभिभावक प्रताप घर्तीले बताए ।

Womui
Womui