वन जंगल मासेकोमा नगरपालिकाका मेयरसहित चार जनाविरूद्ध पक्राउ पुर्जी

172

छिनछिन खबर
काठमाडौं–सप्तरीको सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम गौतम शर्मासहित चारजना विरुद्ध सरकारी स्वीकृतिबिनै वन जंगल मासिने गरी नाला निर्माण कार्य गरेको आरोपमा पक्राउ पूर्जी जारी गरिएको छ ।

वन क्षेत्रमा अनाधिकृत रुपमा नाला निर्माण गरेको भन्दै जिल्ला वन कार्यालय सप्तरीले सप्तकोशी नगरपालिकाका प्रमुख शर्मासहित चारजना विरुद्ध सप्तरी जिल्ला अदालतमा दायर गरेको रिट उपरको सुनुवाईमा शुक्रबार अदालतले अनुमति दिएपछि पक्राउ पूर्जी जारी गरिएको वन कार्यालयका प्रमुख धिरेन्द्र सिंहले जानकारी दिएका छन् ।

राष्ट्रिय वन क्षेत्रभित्र अनाधिकृत रुपमा जेसिभी प्रयोग गरेर ९५ मिटर लम्बाई र करिब २ मिटर चौडाइको नाला निर्माण गरेपछि उनीहरुविरुद्ध प्रमाणसहित अदालत पुगेपछि पक्राउ पुर्जी जारी गर्न अनुमति पाएको उनले बताए । नाला निर्माण सुरु गरेपछि पटक पटक लिखित र मौखिक आग्रह गर्दा पनि नगरपालिकाले वेवास्ता गरेपछि अदालतको शरणमा जानु परेको उनको भनाइ छ । वन संरक्षणको जिम्मेवारी पाएको वन कार्यालयले कर्मचारी परिचालन गर्दा समेत अटेर गरेकाले कानुनी उपचारका लागि अदालत पुगेको र अदालतकै आदेशमा उनीहरुविरूद्ध पक्राउ पूर्जी जारी गरिएको उनले स्पष्ट पारेका छन् ।

यसरी पक्राउ पूर्जी जारी गरिएकामध्ये नगर प्रमुख शर्माका साथै वडा नं. १ वडा अध्यक्ष नारायण आचार्य तथा निर्माण कार्यमा संलग्न सप्तकोशी नगरपालिका १ बस्ने तुलाराम लुईटेल र दुर्गा फुयाल छन् । उनीहरुलाई पक्राउ गर्न वन कार्यालयका सुरक्षाकर्मी पूर्जीसहित परिचालन गरिएको उनले जानकारी दिए । वन कार्यालयबाट पक्राउ पूर्जीसहित खटाइएका सुरक्षाकर्मीलाई नटेरे पुनः अदालतसम्म पुग्ने उनले बताए । यता, प्रमुख शर्माले वन कार्यालयले पक्राउ पुर्जी जारी गरेको स्वीकार्दै आफूले नागरिकलाई सेवा सुविधा र सुरक्षा प्रदान गर्ने उद्देश्यले नाला निर्माण गरेको बताए ।

Womui
Womui