नेपालले पहिलो पटक नाप्यो सगरमाथा, कति होला अबको उचाइ ?

147

छिनछिन खबर
काठमाडौं–नेपालले पहिलोपटक सगरमाथाको उचाइको नाप लिएको छ । यसअघि विदेशीले लिएको नापको आधारमा सगरमाथाको उचाइ प्रयोगमा रहँदै आएको छ ।

नेपाली टोलीले नाप गरेको उचाइ ६ महिनाभित्र सार्वजनिक गरिनेछ । गएको चैत २७ गते सगरमाथाको उचाइ नाप्न नापी विभागका प्रमुख नापी अधिकृत उपसचितव खिमलाल गौतम नेतृत्वको टोली सगरमाथातर्फ प्रस्थान गरेको थियो । प्रमुख नापी अधिकृत गौतमले निकै कष्टपूर्ण तरिकाले राज्यले दिएको जिम्मेवारी पुरा गरेर फर्किएको जानकारी दिए ।

आफ्नो टोलीले १ घण्टा १६ मिनेट सगरमाथाको चुचुरो मापन कार्य गरेर बिताएको उनले जानकारी दिए । ‘त्यहाँ पुगेर काम गर्नुपर्ने थियो । त्यसैले त्यहाँ अब्जरभेसनका सन्दर्भमा एक घण्टा १६ मिनेट चुचुरोमा बितायौं, जुन निकै गाह्रो काम पनि थियो’, उनले भने । ठूलो जोखिमका बावजुद सकुशल फर्किन सफल भएको उनले बताए । टोलीमा सहभागी एक जनाको अक्सिजन सकिएका कारण धेरै समस्या परेको बताए ।

प्रमुख नापी अधिकृत गौतमको नेतृत्वमा नापी अधिकृत रविन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धितालले सगरमाथाको उचाइ मापन गरेका हुन् । भण्डारी र धितालले वेसक्याम्पमा बसेर सम्पर्क शुत्रको काम गरेका थिए भने प्रमुख गौतम र कार्कीले सगरमाथाको चुचुरोमै पुगेर उचाइ मापनको कार्य गरेका थिए ।

२०७२ सालको भूकम्पपछि सगरमाथाको उचाइमा घटबढ भएको हुनसक्ने विषयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा कुरा उठेपछि त्यो विषयलाई मध्यनजर गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले आफ्नै स्रोतसाधनबाट सगरमाथाको उचाइ मापन कार्य अगाडि बढाएको हो । राष्ट्रिय गौरव र अन्तराष्ट्रिय चासोको रूपमा रहेको सगरमाथाको उचाइ मापन कार्य परम्परागत विधि (समतल नापी) तथा आधुनिक विधि (जिएनएसएस) एवं स्थलगत भूआकर्षण सर्वेक्षण जस्ता विधि अवलम्बन गरिएको बताइएको छ ।

सगरमाथाको सफल आरोहण भइ तथ्यांक संकलन भइसकेको र अन्य स्थलगत सर्भेक्षणबाट तथ्यांक प्राप्त हुने क्रममा रहेकोले सम्पुर्ण तथ्यांकहरू प्राप्त भएपश्चात् तथ्यांकहरूलाई प्रशोधन गरी शुद्ध उचाइविश्व सामु प्रस्तुत गर्न नापी विभाग सक्षम रहेको जानकारी दिइएको छ ।

हालसम्मको सगरमाथा मापनसम्बन्धी केही तथ्यहरू
–संसारको सबैभन्दा अग्लो चुचुरोको उचाइ करिब १७० वर्षअघि मापन भएको थियो ।

–सन् २००५ मा चिनले नेसनल ब्युरो अफ सर्भेइङ एण्ड म्यापिङले ८८४४.४३ मिटर उचाई मापन गर्यो ।

–अमेरिकाले सन् २००० मा ८८५० मिटर उचाइ रहेको उल्लेख गर्योे ।

– इटालियनले सन् १९९२ मा ८८४८.६५ मिटर उचाइ मापन गर्यो ।

– सन् १९७५ मा चिनले ८८४८.१३ मिटर मापन गर्यो ।

– सन् १९५४ मा सर्भे अफ इण्डियाले ८८४८ मिटरको उचाइ मापन गर्यो । र, हामीले अहिलेसम्म यसैलाई आधिकारिक उचाई पनि मान्दै आएका छौ ।

–सन् १८४९ मा ब्रिटिस सर्भे अफ इण्डियाले ८८४०.५० मिटर उचाई मापन गर्यो । तर त्यतिबेला पुरानो प्रविधिको प्रयोग भएको थियो ।

Womui
Womui