त्रिशुलीमा बस खस्दा पाँचको मृत्यु, गम्भीर घाइते काठमाडौंमा

115

छिनछिन खबर
काठमाडौं– झापाको काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बस त्रिशुली नदीमा खस्दा पाँच यात्रुको मृत्यु भएको छ । धादिङको गजुरी गाउँपालिका–६, बन्छेटारबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको थियो । दुर्घटनामा चार पुरुष र एक महिलाको मृत्यु भएको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।


चार जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको उपचारका क्रममा मृत्यु भएको उनले बताए । मृतकको सनाखत हुन बाँकी छ । इलाका प्रहरी कार्यालय गजुरीका अनुसार दुर्घटनामा २९ जना घाइते भएका छन् । घाइतेको हाल स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने अवस्था गम्भीर रहेका करिब एक दर्जन घाइतेलाई भने सामान्य उपचार पछि काठमाडौं लाने तयारी भइरहेको पनि प्रहरी जनाएको छ । अन्य घाइतेहरुको गजुरी, आदामघाट र गल्छीमा रहेका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको ना७ ख ४३८७ नम्बरको यात्रुबाहक बस आइतबार बिहान ६ बजेतिर त्रिशूली नदीमा खसेको थियो । बस सडकबाट करिब ६० मिटर तल त्रिशुली नदीमा खसेको हो । बसको आधा भाग मात्रै नदीमा डुबेको छ । बसलाई नदी बाहिर निकाल्न सकिएको छैन । दुर्घटनाका मृतक तथा घाइतेको नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।

Womui
Womui