एउटै बोकाको मूल्य ४ लाख ६५ हजार !

111

मनिषा चम्लागाईँ
धेरै नेपालीले बाख्रा पाल्छन् । बाख्राको मूल्य कति पर्छ भन्ने मोटामोटी अनुमान सबैलाई हुन्छ । तर, झापाको एक गाउँमा बाख्राको पाठाकै मूल्य पनि गाईभैंसी वा घोडाको भन्दा बढी छ भन्दा पत्याउन गाह्रो पर्छ । झापा हल्दिबारी गाउँपालिका–१ गोलधापका गणेश पराजुली एउटा बाख्राको पाठा ४ लाख रुपैयाँसम्ममा बिक्री गर्छन् । बोयर जातको बाख्रा पाल्दै आएका पराजुलीले ३ लाखदेखि ४ लाख ६५ हजार रुपैयाँसम्ममा बाख्राको पाठा बिक्री गर्दै आएका छन् ।

‘प्रगति बोयर बाख्रा फर्म’का सञ्चालक पराजुलीले अहिले बोयर जातका १६४ वटा बाख्रा पालेका छन् । सानाठूला गरी सबै हिसाब गर्दा दुई करोड बढीका बाख्रा पाल्दै आएको पराजुलीले सुनाए । “पाठी २ लाख रुपैयाँ बढी र शुद्ध बोयरका पाठा ४ लाख ६५ हजार रुपैयाँसम्म बिक्री गरेको छु,” पराजुलीले भने । पाठा बिक्री गर्दा चार महिनाको र तौलका हिसाबले २० देखि २२ केजीसम्म हुने पराजुलीको भनाइ छ । बोयरको मासुभन्दा पनि पाठापाठी उत्पादन गर्ने उद्देश्यले व्यवासाय सञ्चालन गरेको पराजुली बताउँछन् । पराजुलीको फर्ममा पाठापाठी खरिदका लागि देशका सबैजसो जिल्लाबाट ग्राहक आउने गरेका छन् ।

पाँच वर्षअघि सञ्चालनमा ल्याइएको फर्मको लगानी नै १ करोड ५५ लाख रुपैयाँ पुगेको उनकी श्रीमती कल्पना पराजुलीले बताइन् । बैंकबाट २७ लाख ३५ हजार रुपैयाँ ऋण लिएर फर्म सञ्चालन गरेको कल्पना बताउँछिन् । “गाउँका धेरै युवा वैदेशिक रोजगारीमा छन्,” पराजुलीले भने, “यो क्रमको अन्त्य गर्दै स्वदेशमै व्यवसाय गरे आयआर्जन गर्न सकिन्छ भनेर ठूलो लगानी गरेको हुँ ।” बुबाको सफल व्यवसायी बन्ने सपना पूरा गर्न पनि व्यवसाय सञ्चालन गरेको उनले सुनाए । “२०४२ सालमा कृषि फर्म दर्ता गरेर, बुबाले कृषि व्यवसाय सञ्चालन गर्नुभएको थियो,” पराजुलीले भने, “कृषिबाट राम्रो उत्पादन भए पनि बुबाको उत्पादनले बजार पाउन सकेन, बजार अभावका कारण डिप्रेसनमा परेर बुबाको मृत्यु भयो ।”

यसपश्चात बुबाको सफल कृषक बन्ने सपना पूरा गर्न आफू बोयरको पाठापाठी उत्पादनमा लागेको पराजुली सुनाउँछन् । फर्ममा अहिले तीन जनालाई रोजगारी दिएको कल्पनाले बताइन् । आवश्यकताअनुसार थप कामदार दैनिक ज्यालादारीमा राख्ने गरेको उनको भनाइ छ । बोयर जातका बाख्रा हेर्दा सानो देखिने भए पनि किलोका हिसाबले धेरै मासु निस्कने कल्पना सुनाउँछिन् । एक वर्षको बोका ९५ देखि ११० किलोसम्म हुने उनले बताइन् । आम्दानी पनि राम्रो हुने कल्पनाको भनाइ छ ।

बढी लगानी पर्ने भएपछि सुरुमा दुईवटा बोयर जातका बाख्रा र केही लोकल बाख्राबाट फर्म सुरु गरेका थिए पराजुली दम्पतीले । यसै वर्ष पराजुलीले २७ लाख रुपैयाँ बढी लगानी गरेर फर्मलाई थप विस्तार गरेका छन् । थप दुई सय बाख्रा आट्न सक्ने फर्म बनाएको कल्पनाले बताइन् । चितवनका योगेन्द्रबहादुर खड्काले सञ्चालन गरेको जगत एग्रोबाट साउथ अफ्रिकन जातको बोयर बाख्राका पाठापाठी ल्याएर व्यवसाय सुरु गरेका थिए पराजुलीले ।

“त्यस समयमा पराजुलीले ल्याएका दुई वटा बाख्राको दाम सुनेर सबै अचम्ममा परेका थिए,” कल्पनाले भनिन्, “लाखभन्दा बढी पर्छभन्दा सबैले उडाउँथे ।”फर्मको अवलोकन गर्न भनेर देशको विभिन्न भुभागबाट मानिस आउने गरेका छन् । व्यवसायिक रूपमा बाख्रा फर्म सञ्चालन गरेपछि फर्म अवलोकन गर्न आउनेको संख्या पनि बढेको पराजुली बताउँछन् । अनावश्यक कुरा गर्दै फर्म अवलोकन गर्न जानेलाई नियन्त्रण गर्न अवलोकन शुल्क नै तोकेर ढोकामा टाँसेका छन् पराजुलीले ।

अवलोकनमा जानेले प्रतिव्यक्ति दुई सय र संस्थागत रूपमा हेर्न आए १ हजार ५ सय शुल्क तिर्ने नियम लगाएको उनले सुनाए । कृषि पेसालाई घृणा जस्तो गर्ने र केही गर्न नसकेपछि मात्र यो पेसा समाउने धेरै रहेकाले कृषि पेसा बदनाम हुने गरेकोे अनुभव छ उनीसँग । सबै जातको घाँस पनि खाने हुनाले लोकल भन्दा बोयर जातको बाख्रा पाल्न सहज हुने पराजुलीले जनाए । गाउँमा नै घर र जग्गा हुनेलाई थप सहज हुने उनले बताए । व्यवसायमा उत्पादन लागत घटाउने उद्देश्यले चार विघामा घाँस खेतीसमेत गरेका छन् ।

एक बिघा आफ्नै र तीन बिघा भाडामा लिएका पराजुलीले बाख्राको मल सोही घाँसमा लगाउने गरेका छन् । बाख्रालाई घाँससँगै दाल र मकैको पीठो मिसाएर खुवाउने गरेका छन् उनले । बोयर जातको बाख्रामा बोसोको मात्रा कम हुने भएकाले बजारमा यसको मासुको माग बढी रहेको छ । अन्य देशमा यसको व्यावसायिक पालन धेरै भए पनि नेपालमा भने कम रहेको पराजुलीले बताए । उनले नार्क र जिल्ला पशु कार्यालय झापाले प्रदान गरेको बाख्रापालन सम्बन्धी तालिम लिएका छन् । बाख्रापालनसम्बन्धी अहिले उनी आफैँले तालिम समेत दिने गर्छन् ।

सरकारले पराजुलीलाई ३६ औं खाद्य दिवसका अवसरमा राष्ट्रियस्तरको पुरस्कारबाट सम्मान गरिसकेको छ । बोयर पालनबाट राम्रो आम्दानी गर्न सफल पराजुली यो पेशामा धेरै चुनौती पनि सामना गर्नुपर्ने बताउँछन् । पशुपालन गर्दा प्राविधिक समस्या मुख्य रहेको पराजुलीको भनाइ छ । “बाख्रापालन विधि, रोग, खोर व्यवस्थापन जस्ता कुरा कृषकका मुख्य समस्या रहेका छन्,” उनले भने, “सरकारले कृषि क्षेत्रमा आवश्यक प्राविधिक उत्पादनमा ध्यान दिन आवश्यक छ ।” किसानले सहज रूपमा प्राविधिक सेवा पाउन सके राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ । कृषिका केही क्षेत्रमा योजना ल्याए पनि वास्तविक किसान सेवा पाउनबाट बञ्चित रहेको पराजुलीको गुनासो छ । वास्तविक किसान पहिचान गरेर अनुदान लगायत सरकारी सुविधा दिइनुपर्ने उनले बताए ।
कारोबारबाट

Womui
Womui