प्रदेश नम्बर ५ को नाम ‘लुम्बिनी’, राजधानीका विषयमा अझैं विवाद

36

छिनछिन खबर
बुटवल,बैशाख २२ । प्रदेश नम्बर ५ को राजधानीको विषय टुंगो लाग्न अझैं केही दिन लाग्ने भएको छ ।प्रदेशसभाले गठन गरेको उपसमितिले बुझाएको प्रतिवेदनमाथि मूल समितिले विज्ञहरुसँग छलफल गरेर टुंगोमा पुग्ने निर्णय गरेपछि राजधानीको विषय टुंगो लाग्न थप केही दिन लाग्ने भएको हो ।

आइतबार बसेको प्रदेशसभाको राजधानी सिफारिस गर्न बनेको विशेष समितिको बैठकले विज्ञ उपलब्ध गराइदिन प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको हो ।उपसमितिले शनिबार मूल समितिलाई सुझाव सहितको प्रतिवेदन बुझाएको थियो । जसको आधारमा आइतबार सभामुखलाई बुझाएर प्रदेशसभामा पेस हुने अपेक्षा गरिएको थियो ।उपसमितिले १२ वटै जिल्लाबाट संकलन भएको सुझावका आधारमा प्रतिवेदन बनाएको छ । सो प्रतिवेदन आज बसेको मूल समितिको बैठकले केही परिमाजित गरी तथा सुझावको लागि विज्ञसँग छलफल गर्ने निर्णय गरेको प्रतिवेदन मूल समितिका सभापति दीपेन्द्र कुमार पुन मगरले जानकारी दिए ।बैठकपछि मगरले भने, ‘हामीले उपसमितिबाट आएका सुझावहरु एकीकृत गरेका छौँ, अनि थप राय लिनको लागि विज्ञहरु उपलव्ध गराइदिनको लागि प्रदेशसभा सचिवालयलाई पत्र लेखेका छौँ ।’

प्रदेशसभाको कार्य्विधिमा विज्ञहरुसँग राय सुझाव लिन सक्ने उल्लेख छ । जसअनुसार अब प्रदेशसभा सचिवालयले सुरक्षा, मौसमविद्, भूगोलविद्लगायत उपलब्ध गराइदिनुपर्ने हुन्छ । उनीहरुले सुझाव दिएपछि एकीकृत प्रतिवेदन तयार गरी सभामुखलाई बुझाइने छ ।मूल समितिका सभापति मगरले प्रतिवेदन छिट्टै बुझाउने पक्षमा सबै सदस्यहरु रहेको दावी गरे । उनले भने, ‘ विज्ञहरु उपलव्ध भएपछि छलफल गरेर एउटा खाका बन्छ, अनि उपसमितिबाट आएका सुझावलाई समेटेर विस्तृत प्रतिवेदन बुझाउने छौँ । हामी प्रतिवेदन तयार गर्न ढिलो नगर्ने पक्षमा छौं ।’

यस्तो छ तयारी
हिउँदे अधिवेशन सकिँदै गर्दा समितिले प्रदेशको नाम र राजधानीबारे अन्तिम टुंगो लगाएर प्रदेशसभामा पेश गर्ने तयारी गरेको हो । प्रदेशको राजधानी र नाम सिफारिस गर्न बनेको विशेष समितिले बनाएका ६ वटा उपसमितिले तयार पारेको सुझावलाई समेटेर बनाएको प्रतिवेदन प्रदेशसभामा पेश गर्ने तयारी भएको छ । अव विज्ञहरुको राय सल्लाह आएपछि प्रतिवेदन बलियो बन्नेछ ।

उपसमिति सदस्यहरूमध्येका जेष्ठ सदस्य बाबुराम गौतमले सुझावसहितको प्रतिवेदन मूल समितिका सभापति मगरलाई हिजोको बैठकमा हस्तान्तरण गरेको समितिका सदस्य निमला क्षेत्रीले जानकारी दिइन् ।सुझावसहितको प्रतिवेदनमा प्रदेशको स्थायी राजधानी चर्चामा रहेका रुपन्देही र दाङलाई सिफारिस गरिएको छ । सुझावका क्रममा बनाइएको प्रश्नपत्रमा लेखिएका उत्तरका आधारमा समितिले सिफारिस गरेको हो। धेरै सुझाव रुपन्देही र दाङमा राख्नुपर्छ भन्ने रहेको छ। उपसमितिले तेस्रो विकाल्पमा कपिलवस्तुलाई सिफारिस गर्न सुझाव दिएको छ ।

प्रदेशको नाम लुम्बिनी

उपसमितिले १२ जिल्लामा पुगेर संकलन गरेको सुझावका आधारमा प्रदेशको नाम लुम्बिनी राख्न सिफारिस गरेको छ।सुझाव संकलनका क्रममा आएका सुझावअनुसार बुद्धभूमि, स्वर्गद्वारी, मगरात, थरुहटलगायतका नामहरू पनि सूचीमा राखिएको विशेष समितिका एक सदस्यले जानकारी दिए। लुम्बिनीको नामका विषयमा भने अधिकांश एकमत छन् ।बैठकमा लुम्बिनी प्रदेशको विपक्षमा दुई जना सांसदले मात्रै राय राखेका छन्। उनीहरूले बुद्धभूमि राख्नुपर्ने राय दिएको ती सदस्यले बताए ।

Womui
Womui