प्लाई उद्योगमा आगलागी हुँदा पाँच करोड बढीको क्षति

69

नेपालगन्ज, चैत २९-
नेपालगन्जमा रहेको एक प्लाई उद्योगमा आगलागी हुँदा ५ करोड बढीको क्षति भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ उदयपुरस्थित ओम प्लाई एण्ड फर्निचर उद्योगमा आगलागी भएको हो । प्रहरीका अनुसार शुक्रबार बिहान करिव ४ बजेतिर उद्योगमा एक्कासी आगलागी भएको थियो । आगलागीबाट करिव ५/६ करोड रूपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक भरतसिंह राठौरले जानकारी दिए ।

आगलागी लगत्तै पुगेका प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा तथा नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाको दमकलको सहायताले बिहान ७ बजेतिर नियन्त्रणमा लिएको उनले बताए । आगलागीको कारण खुल्न नसकेपछि बोईलर मेसिनबाट आगो सल्केको हुन सक्ने प्रहरीको अनुमान छ । राठौंरले भने, ‘राती ९ बजे उद्योगको मेसिन बन्द गरिएको रहेछ, बिहान पख ४ बजेतिर मात्र आगो फैलिएको थाहा भएछ ।’

आगलागीबाट एक करोड ६० लाख मुल्य पर्ने एउटा मेसिनमा समेत क्षति पुगेको उनको भनाई छ । यता उद्योग सञ्चालक पशुपति दयाल मिश्रले क्षतिको एकिन नभएपनि ५÷६ करोड बराबरको क्षति भएको हुन सक्ने बताएका छन् । प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा तथा दमकल समयमै आएका कारण ठुलो क्षति हुन नपाएको मिश्रले सुनाए ।

Womui
Womui