सिक्टा सिँचाइको जग्गा कसरी भयो व्यक्तिको नाममा ?

111

नेपालगन्ज, चैत २९-
भूमाफिया र मालपोत कर्मचारीको मिलेमतोमा बाँके र बर्दियामा करोडौं मूल्यका सरकारी जमिन नामसारी भएको तथ्य सार्वजनिक भएको छ । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको नेपालगन्जस्थित कारकाँदोमा रहेको ५ कट्ठा १३ धुर जग्गा भूमाफिया र मालपोत कर्मचारी मिलेर व्यक्तिका नाममा गराएका हुन् । कर्मचारीसँग मिलेर किर्ते कागज बनाई भूमाफिया खैरुल हसन अन्सारीले नौ महिनाअघि आफ्नी आमा हसरतुन निशा अन्सारीको नाममा गराएको तथ्य खुलेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ निवासी खैरुलले सिक्टाको उक्त जग्गा नामसारीपश्चात् दृष्टिबन्धक राखेर केही रकमसमेत निकालेको पाइएको छ ।

उक्त जग्गामा सिक्टा सिँचाइ आयोजना कार्यालय तथा कर्मचारी निवास रहेको छ । आयोजनाका निर्देशक कृष्णप्रसाद नेपालले कार्यालयको नाममा रहेको १० कित्ता जग्गामध्ये एउटा कित्ता बिक्री भएको पाइएको बताए । ‘करिब ६ महिनाअघि एकजना व्यक्ति नापीका कर्मचारीसमेत लिई आई यहाँ मेरो जग्गा परेको छ, २०३० सालमा किनेको हुँ, छुट्याउन आएको हुँ भनेको थियो । यहाँ तिम्रो जग्गा हुनै सक्दैन भनेर हामीले फर्काईदिएका हौं,’ उनले भने । व्यक्तिले जग्गा भएको दाबी गरेपछि लगत्तै मालपोत कार्यालयलाई पत्र लेखेर कागजात खोज्दा एउटा कित्ता बिक्री भएको थाहा पाएको निर्देशक नेपालले सुनाए । ‘सरकारी जग्गा कसरी व्यक्तिको नाममा बिक्री भएको देखियो, हामी पनि यो विषयमा अनभिज्ञ छौं,’ उनले भने ।

आयोजना निर्देशक नेपालका अनुसार चार दशकअघि भूमिसुधार कार्यालयले उक्त जग्गा सिक्टालाई दिने निर्णय गरेको थियो। त्यसपछि सिक्टाको कार्यालय बस्दै आएको छ । मालपोत कर्मचारीसँग मिलेर अर्का भूमाफिया जुनेद अन्सारीले पनि नेपलागन्ज उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको ५ कट्ठा १३ धुर सरकारी जग्गा आफ्नी सासू लाली मल्लको नाममा गराएको पाइएको छ । भारत बहराइचस्थित मोतीपुर स्थायी घर भई नेपालगन्ज–१६ मा बस्दै आएका जुनेद ८ महिनाअघि उक्त जग्गाको दर्ता स्रेस्ता कायम गराउन सफल भएका थिए । उनले जग्गाधनी प्रमाण पुर्जा भने लिन पाएनन् । सोही समूहले बर्दियाको साबिक नेउलापुर–७ मा रहेको ६ बिघा ३ कट्ठा १४ धुर सरकारी जग्गा पनि किर्ते कागज बनाएर व्यक्तिका नाममा गराएको छ । उक्त जग्गाको पनि खैरुलले आफ्ना बुवाको नाममा दर्ता स्रेस्ता कायम गराई आमा हसरतुन निशा अन्सारीकै नाममा नामसारी गराएका छन् ।

उक्त जग्गा पनि दृष्टिबन्धक राखी रकम लिएको खुलेको छ । सरकारी कर्मचारीकै मिलेमतोमा किर्ते कागजात बनाएर करोडौं मूल्यको सरकारी जग्गा नामसारी गराएको तथ्य खुलेपछि जिल्ला प्रहरी कार्यालय बाँकेले अनुसन्धान गरिरहेको छ । अनुसन्धानका लागि भन्दै भूमाफिया, मालपोत कर्मचारी र लेखनदास गरी १८ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (एसपी) अरुण पौडेलले नागरिकलाई बताए । उनका अनुसार सरकारी कागजात किर्ते मुद्दाको अनुसन्धानका लागि २६ जनालाई पक्राउ गर्न प्रहरीले अदालतबाट आदेश लिइसकेको छ ।

केही व्यक्ति फरार रहेको एसपी पौडेलले जनाए । पक्राउ पर्नेमा नेपालगन्ज–३ निवासी खैरुल हसन अन्सारी, मालपोत कार्यालय बाँकेकी तत्कालीन प्रमुख पुष्पा श्रेष्ठसहित चारजना अधिकृत, पाँचजना सुब्बा, एकजना सहायक कम्प्युटर अधिकृत, चारजना खरिदार, दुईजना लेखनदास र एकजना कार्यालय सहायक छन् । सोही अभियोगमा संलग्न रहेको आरोप लागेका मालपोत कार्यालय बर्दियाका तत्कालीन प्रमुख कृष्णप्रसाद ज्ञवालीसहित ८ जना फरार रहेको र उनीहरुको खोजी भइरहेको एसपी पौडेलले बताए । ‘कागज किर्ते गरेर सरकारी जग्गा नामसारी गर्नमा यी कर्मचारीको कुनै न कुनै रुपले संलग्नता छ । हामी अनुसन्धान गरिरहेका छौं, वास्तविक कुरा पत्ता लाग्ला नि,’ उनले भने ।
सरकारी जग्गा यसरी बनाइयो व्यक्तिको नाममा
नेपालगन्ज–३ निवासी खैरुल र भारत बहराइच मोतीपुर घर भई हाल नेपालगन्ज–१६ मा बस्दै आएका जुनेद अन्सारी जग्गा कारोबारी हुन् । उनीहरु दुवैजनाले केही समययता संयुक्त रुपमा जग्गा कारोबार गर्दै आएका थिए । दुवैजनाले मालपोत कर्मचारीसँग मिलेर सिक्टा सिँचाइ आयोजना र बर्दिया नेउलापुर–७ मा रहेको सरकारी जग्गाको किर्ते कागजात तयार गरी नामसारी र दर्ता स्रेस्ता कायम गराउन सफल भएपछि सबै कागजात जुनेदले राखे। ‘खैरुलले उक्त कागजात पटकपटक माग्दा पनि जुनेदले दिएनन्’, एसपी पौडेलले अनुसन्धानको तथ्य खुलाउँदै भने, ‘जग्गासम्बन्धी विवादकै कारण खैरुलले जुनेदको हत्या गर्ने योजना बनाए ।’

जग्गा किनबेचको बहानामा २०७५ माघ २१ मा खैरुलले फोन गरी नेपालगन्जको चारबाहिनी चोकमा जुनेदलाई भेट्न बोलाए । खैरुलले नेपाल र भारतका केही व्यक्तिको संलग्नतामा जुनेदलाई ललाईफकाई भारतको बाबागन्ज पु¥याए । जुनेदको त्यही ठाउँमा हत्या गरियो । ‘एउटा हात र एउटा खुट्टा काटेर बीभत्स रुपले हत्या गरी लास जलाउँदै गरेको थाहा पाएपछि भारतीय प्रहरी पुगेर अनुसन्धान सुरु ग¥यो, नवाबगन्ज थानाले उपलब्ध गराएको लासको फोटो र कपडाको आधारमा जुनेदकी पत्नीले मेरै श्रीमान्को हो भनेर सनाखत गरेपछि पुष्टि भयो,’ एसपी पौडेलले भने ।

मृतककी पत्नीले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेले सुरुमा खैरुललाई पक्राउ गरी अनुुसन्धान सुरु ग¥यो । अनुसन्धानका क्रममा प्रहरीले मृतक जुनेदको घरबाट सरकारी किर्ते कागजात बरामद ग¥यो । सूक्ष्म रुपले अनुसन्धान गर्दै जाँदा मालपोत कर्मचारी र लेखनदाससँग मिलेर खैरुल र जुनेदले किर्ते कागजात तयारी गरी सरकारी जग्गा नामसारी गरेको रहस्य पत्ता लागेको जिल्ला प्रहरी प्रमुख पौडेलले सुनाए । खैरुलले किर्ते कागजात तयार गरी करोडौं मूल्यको सरकारी जग्गा नामसारी गरेको प्रहरीसमक्ष स्वीकार गरिसकेका छन् ।

उनीविरुद्ध कर्तव्य ज्यान, अपहरण तथा शरीर बन्धक तथा सरकारी कागजात किर्तेसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । अभियुक्त खैरुलको बयानकै आधारमा जिल्ला मालपोत कार्यालय बाँके र बर्दियाका प्रमुखसहित कर्मचारी तथा लेखनदासविरुद्ध अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका मालपोत कर्मचारी र लेखनदासविरुद्ध भने सरकारी कागजात किर्तेसम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ ।

नागरिक दैनिकबाट

Womui
Womui