नरैनापुरको डेलिगेशन टोलीले प्रदेश सरकारको ध्यानाकर्षण गरायो

138

नरैनापुर(बाँके), चैत्र २०-
नरैनापुर गाउँपालिकाको डेलिगेशन टोलीले प्रदेश पाँचका मन्त्रीहरुलाई भेटेर गाउँपालिकाको विकासका लागि आवश्यक बजेट उपलब्ध गराउन माग गरेको छ । अध्यक्ष इस्तियाक अहमद शाह नेतृत्वको टोलीले भौतिक पुर्वाधार मन्त्री बैजनाथ चौधरी र सामाजिक विकास मन्त्री सुदर्शन बराललाई भेटेर गाउँपालिकाको विकासका लागि ध्यानाकर्षण गराएको हो । प्रदेश सभा सदस्य कृष्णा केसी नमुना समेत सहभागी भएको उक्त टोलीले नेपाल सरकारको पिछडिएको सुचीमा रहेको नरैनापुरको अवस्था अवगत गराउँदै प्रदेश सरकारका तर्फबाट आवश्यक बजेट उपलब्ध गराउन माग गरेको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए ।

भेटका क्रममा दुबै मन्त्रीले नरैनापुरलाई आफुहरुले प्राथमिकतामा राखेको बताउँदै यही महिनाभित्रै स्थलगत अवलोकन गरेर आवश्यक बजेट उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरेको बस्नेतले बताए । भेटका क्रममा प्रदेश सभा सदस्य नमुनाले विकासमा निकै पछाडि परेको नरैनापुरलाई विशेष रुपमा हेर्न आग्रह गरेका थिए । ‘त्यहाँको अवस्था निकै खराब छ, जनता समस्यामा छन्, न विजुली छ, न सिँचाइ सुविधा छ, हामीले जनता समक्ष गरेका प्रतिवद्धता पुरा गर्न प्रदेश सरकारले सघाउन जरुरी छ,’ नमुनाले भनिन्, त्यहाँको वास्तविक अवस्था बुझ्न मन्त्रीज्युहरुले स्थलगत अवलोकन गर्नुपर्छ ।’ गाउँपालिका अध्यक्ष शाहले आफु निर्वाचित भएर आएदेखि नरैनापुरले विस्तारै काँचुली फेरिरहेको बताउँदै थप विकास र समृद्धिका लागि प्रदेश सरकारले साथ दिनुपर्ने बताए ।

मन्त्रीद्वय समक्ष उनले भने, ‘पहिले भन्दा विकास भएको छ तर धेरै आवश्यकता भएकाले तपाईंहरुले नरैनापुरलाई विशेष रुपमा हेर्नुपर्दछ ।’ अध्यक्ष शाहले दुबै मन्त्रीलाई गाउँपालिकाको स्थलगत अवलोकनका लागि आग्रह पनि गरे । भौतिक पुर्वाधार मन्त्री चौधरीले नरैनापुरको सिँचाइ, बिजुली, तटबन्ध र सडकका लागि आफुले सक्दो सहयोग गर्ने बताए । सामाजिक विकास मन्त्री बरालले गाउँपालिकामा प्राविधिक शिक्षालय स्थापनाका लागि आफुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

Womui
Womui