पार्कमा दैनिक २० मिनेट बिताए खुसी हुन सकिन्छ

37

एजेन्सी– मानिसको खुसी र स्वास्थ्यमा सुधार ल्याउन हरियालीयुक्त स्थानमा दैनिक कम्तीमा २० मिनेट समय बिताउनु पर्ने एक अध्धयनले देखाएको छ । यसले तनाव कम गर्नुका साथै रक्तचाप र मुटुको गतिलाई सन्तुलनमा राख्न मद्दत गर्दछ भने शारीरिक गतिविधिलाई पनि प्रोत्साहन गर्दछ । यसरी हरित ठाउँ वास्तवमै मानसिक समस्याहरुसँग सम्बन्धित रहेको यसअघिका अनुसन्धानहरुमा पनि प्रमाणित भइसकेको छ ।

त्यसैले चिकित्सकहरुले सबै बिरामीलाई यो खोजलाई गम्भीर रुपमा लिन र थोरै समय भएपनि प्राकृतिक वातावारणमा बिताउन सल्लाह दिने गर्दछन् । 

‘इन्टरनेशनल जर्नल अफ इन्भारोमेन्टल हेल्थ रिसर्च’ मा प्रकाशित एउटा नयाँ अध्ययनले तिनै खोजहरुको समर्थनमा थप प्रमाण पेश गरेको छ र बाहिरी वातावरणमा थोरै समय बिताउनुले पनि कति ठूलो फाइदा गराउन सक्छ भन्ने तथ्यलाई पुनः दोहोर्याएको छ । अध्ययनका अनुसार कुनै किसिमको शारीरिक अभ्यास नगरिकनै पार्कमा केबल २० मिनेट बिताउनुले पनि हाम्रो स्वास्थ्य अवस्थामा ठूलो सुधार ल्याउँछ ।

यसका लागि अनुसन्धानकर्ताहरुले ९४ वयस्कलाई पार्क जान सुरु गर्नु अघि र पछिको सर्वेक्षण गरेका थिए । जसमा शारीरिक गतिविधि मापन गर्न उनीहरुलाई फिटनेस ट्रयाकर दिइएको थियो तर कति समय पार्कमा बस्ने वा के गर्ने भन्ने निर्देशन चाहिँ दिइएको थिएन । यसपछि प्रत्येकलाई उनीहरुको जीवन, सन्तुष्टि र मुडका बारेमा प्रश्न गरिएको हो र सबैको स्वास्थ्य अवस्था मापन गरि भिन्दाभिन्दै स्कोर दिइएको थियो ।

यसमा सबै सहभागीले औसतमा ३२ मिनेट पार्कमा बिताएको पाइएको हो भने ३० प्रतिशतले चाहिँ हल्का शारीरिक अभ्यास पनि गरेका थिए । यसरी पार्क जान थालेपछि सहभागीहरु मध्ये ६२ प्रतिशतको स्वास्थ्य अवस्थामा धेरै सुधार आएको पाइएको हो । त्यसैले आफ्नो स्वास्थ्य अवस्थामा सुधार ल्याउन शारीरिक अभ्यास नै जरुरी नभएको अध्ययनका उपप्रमुख होन युएनले बताए । उनी ब्रिङ्गमस्थित युनिभर्सिटी अफ अल्बामाको अक्युपेसनल थेरापी विभागका अध्यक्ष हुन् । उनले भने, “केही मानिसहरु पार्कमा गएर केबल प्रकृतिको मज्जा मात्र उठाउने गर्छन् ।

त्यसैले शारीरिक अभ्यास गर्नैपर्छ भन्ने जरुरी छैन । शान्त वातावरणमा बसिरहँदा पनि तनाव कम हुन सक्छ र विस्तारै मानिसले खुसी महसुस गर्न थाल्छ ।” यसरी चिकित्सक समाजले पनि हरित स्थलहरुलाई आफ्नो बिरामीको शारीरिक र मानसिक स्वास्थ्यमा सुधार ल्याउने प्रमुख माध्यमका रुपमा हेरिरहेका छन् । वासिङटनका फिजिसियन डाक्टर रोबर्ट जर त आफ्ना बिरामीहरुका लागि लिखित रुपमा आधिकारिक प्रिस्क्रिप्सन समेत दिइरहेका छन् ।

यसरी प्रकृतिको थेरापी अन्र्तगत डाक्टरहरुले बिरामीलाई कम्तिमा पनि हप्तामा एक घण्टा पार्कमा गइ स्वच्छ हावा लिन भन्ने गरेका छन् । उनका अनुसार यो कुरा सबै उमेरकालाई लागू हुन्छ । अझ मानिसक बिमारी भएका, मोटोपना, टाइप २ डायबिटिजका बिरामीका लागि त यसले विशेष लाभ गराउने उनले बताए । त्यसरी प्रिस्क्रिप्सनमा औषधिका साथै पार्कमा घुम्न जान भनि लेखेर दिँदा अधिकांशले वास्तवमै यो सुझाव अपनाउने गरेको उनको भनाइ छ ।

Womui
Womui