लगानी सम्मेलनमा ४० देशका ६ सय प्रतिनिधि सहभागी हुने तय

159

काठमाडौं– चैत १५ र १६ गते काठमाडौंमा सम्पन्न हुन गइरहेको लगानी सम्मेलनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । अर्थ मन्त्रालयले पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।

सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । सम्मेलनमा विभिन्न ४० देशका उच्च प्रतिनिधिमण्डल सहित ६ सयभन्दा बढी विदेशी लगानीकर्ताको उपस्थिति रहने अर्थमन्त्रालयले जानकारी दियो । सम्मेलनमा लगानी बोर्डले कृषि, जलविद्युत, उद्योग, पर्यटन, यातायात, सहरी पूर्वाधार एवम शिक्षा तथा स्वास्थ्य क्षेत्र सम्बन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजना प्रस्तुत गर्ने कार्यक्रम छ ।

सम्मेलनलाई लक्षित गरी सरकारले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउनुका साथै विशेष आर्थिक क्षेत्र ऐनमा संसोधन समेत गरिसकेको छ । सम्मेलनका लागि म्यानमारका लगानी तथा विदेश आर्थिक सम्बन्ध मन्त्री यू थाउङ टुन, विश्व बैंकका उपाध्यक्ष हार्टवीग स्याफर, एशियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन, विश्व बैंक अन्तरगतको वहुपक्षीय लगानी प्रत्याभूति सम्बन्धी निकायका उपाध्यक्ष तथा प्रमुख कार्यकारी केईको हो र अन्तर्रा्ष्ट्रिय वित्त निगम (आइएफसी) का आर्थिक तथा निजी क्षेत्र विकाससम्बन्धी उपाध्यक्ष हान्स पिटर लंकेस सहभागी हुनेछन् । मन्त्रालयका अनुसार एशियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्यसंचालन सम्बन्धी उपाध्यक्ष डोङ ली तथा माईक्रोसफ्ट, अमेजन, पावर चाईना, चाईना रेलवे, डाबर, यूनिलिभर लगायतका विश्व प्रसिद्ध कम्पनीहरुको उच्चपदस्थ प्रनिनिधिहरुको उपस्थिति रहनेछ ।

सम्मेलनको पहिलो दिन नेपाल सरकारको तर्फबाट लगानीको अवसर तथा लगानी सम्बन्धी नीतिगत सुधारहरुबारे प्रस्तुतिकरण, नेपालमा लगानी गरिरहेका लगानीकर्ताहरुको अनुभव, अन्तराष्ट्रिय लगानीकर्ताहरुको लगानी सम्बन्धी अनुभव सहित सातवटा विषयगत सत्रहरु संचालन हुनेछन् । त्यसैगरी सम्मेलनको अन्तिम दिन दुईवटा क्षेत्रगत र तीनवटा प्लेनरी सत्रहरु संचालन हुनेछन् । सरकारले यो लगानी सम्मेलन मार्फत विश्वका लगानकर्ताहरुलाई नेपालमा लगानीका अवसर, लगानी प्रवद्र्धनका लागि सरकारले लिएका नीतिगत तथा कानुनी प्रयासबारे जानकारी गराउने अवसर मिल्नुका साथै नेपाल लगानीको लागि उत्कृष्ठ गन्तव्य रहेको सन्देश दिने अवसरको रुपमा लिएको छ ।

यस सम्मेलनले नेपाल सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य हासिल गर्न सहयोग पु¥याउने आशा लिईएको अर्थमन्त्रालयले बतायो । लगानी सम्मेलन सफल रुपमा आयोजना गर्न माननीय अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष डा. यूवराज खतिवडाको संयोजकत्वमा निर्देशक समिति गठन भएको छ ।

Womui
Womui