सात महिनामा ५ खर्ब १५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, वैदेशिक रोजगारीमा जानेको संख्यामा गिरावट

31

छिनछिन खबर
काठमाडौं–चालु आर्थिक वर्षको सात महिनामा ५ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएकोे छ । राष्ट्र बैंकका अनुसार वैदेशिक रोगारीमा जानेको संख्या ३९.२ प्रतिशतले घटेपनि विप्रेषण आप्रवाहमा २८.५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवको सोही अवधिमा विप्रेषण आप्रवाह १.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.० प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको थियो । माघ महिनासम्म खुद ट्रान्सफर आय २७.३ प्रतिशतले वृद्धि भएर ५ खर्ब ८६ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३ प्रतिशतले घटेको थियो । बिप्रेषण आप्रवाहमा सुधार आएपनि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा भने कमी आएको छ । चालु आवको सात महिनाको अवधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३९.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.९ प्रतिशतले घटेको थियो ।

साथै, पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ४.९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.६ प्रतिशतले घटेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोक लगाएका कारण विगत १० महिनादेखि मलेसिया रोजगारी बन्द छ ।

Womui
Womui