एकै दिन एउटै जग्गाको २ पटक कित्ताकाट, पुँजीगत लाभकरमा घोटाला भएको भन्दै नासुसहित ७ जनाविरुद्ध मुद्दा

114

छिनछिन खबर
काठमाडौं,चैत १ । एकै दिन एउटै जग्गाको दुई पटक कित्ताकाट गरेर क्षेत्राधिकार मिची किनबेच गरेको र जग्गाको कम मुल्याकंन देखाई पुँजीगत लाभकरसमेत घोटाला गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मोरङ साबिकको सिजुवा गाविस–८ को साविक कित्ता नम्बर ३६५ बाट कित्ताकाट भई कायम भएको कित्ता नम्बर ४७९ को जग्गा हस्तराज ओखरावु (लिम्बु) र सूर्यबहादुर श्रेष्ठबीच २०७४ सालमा किनबेच भएको थियो।खरिद(बिक्री हुँदा मालपोत कार्यालय रंगेलीको रसिद नम्बर ३६०४ मा २०७४ माघ ३ गते उक्त जग्गाको मुल्याकंन २९ लाख ९० हजार रुपैयाँ उल्लेख गरी रजिष्ट्रेसन पारित गरिएको थियो‍।नक्सामा कच्ची सडक प्रष्ट देखिने उक्त जग्गाको मुल्याकंन ३३ लाख ३७ हजार ५ सय रुपैयाँ हुनुपर्ने थियो। तर, उनीहरुले मालपोतका कर्मचारीसँग मिलेर कम मुल्याकंन देखाएर पुँजीगत लाभकर घोटाला गरेको पाइएपछि अख्तियारले विशेष अदालतमा शुक्रबार मुद्दा दायर गरेको हो।

अख्तियारले मालपोत कार्यालयका तत्कालीन नासु प्रदीप घिमिरे, देवीप्रसाद लुइँटेल, बहिदार नन्दलाल राजवंशी, रतुवामाई नगरपालिका–७ का वडाध्यक्ष दानालाल राजवंशी, जग्गा बिक्रिकर्ताद्वय दुर्गाप्रसाद निरौला र हस्तराज ओखराबु (लिम्बू) तथा जग्गा खरिदकर्ता सूर्यबहादुर श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको हो।त्यस्तै, उनीहरुले मोरङकै रंगेली बसपार्क नजिक रहेको जग्गा कम मूल्याङ्कन गरी एकै दिन दुई पटक कित्ताकाट गरी बिक्री गरेको लगायतको उजुरी परेपछि अख्तियारले अनुसन्धान गरेको थियो।अनुसन्धानका क्रममा गलत विवरण पेस गरी घरबाटो सिफारिस माग गर्ने, आफ्नो क्षेत्राधिकार बाहिर गई बाटो भएको जग्गालाई बाटो नभएको भनी सिफारिस गर्ने, असम्बन्धित वडाको घरबाटो सिफारिसको आधारमा जग्गाको मूल्याकंन गर्ने तथा पुँजीगत लाभकर तथा रजिष्ट्रेसन दस्तुर कम असुल गरी नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएको अख्तियारले जनाएको छ।

Womui
Womui