गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि साढे पाँच करोड रकम संकलन

156

छिनछिन खबर
काठमाडौं–चितवनको रामपुरमा निर्माण गर्न लागिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि पाँच करोड ५० लाख सङ्कलन भएको छ । धुर्मुस–सुन्तली फाउण्डेशनले हालसम्म त्यति रकम संकलन भएको जनाएको हो । सो रङ्गशालाका लागि तीन अर्ब लाग्ने अुनमान छ ।

रङ्गशाला निर्माणका लागि आफूहरुले सबैलाई सहयोगको आह्वान गरेको फाउन्डेसका अगुवा सिताराम कट्टेलले बताए । चितवनवासीले अपनत्व महसुस गरेर सबै नेपालीलाई पनि अपनत्व महसुस गराउन सके रङ्गशाला तोकिएको समय अघि नै सम्पन्न हुने उनले बताए । “रकम सङ्कलन गर्न विदेशमा समेत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छौँ”, उनले भने । रङ्गशाला निर्माण सहयोगार्थ मलेशियामा कार्यक्रम सम्पन्न गरिसकेको बताउँदै उनले आगामी दिनमा जापान, अष्ट्रेलिया र दुबईमा कार्यक्रम तय भइसकेको बताए। आर्थिक सङ्कलनका लागि जिल्ला जिल्लामा समिति गठन भइरहेको छ । अध्यक्ष कट्टेलले हरेक टोल टोलबाट सहयोग आउने क्रम जारी रहेको बताए ।

समाज सेवाका लागि आफूहरुले अन्तिम पटक सबैसँग गुहार मागी रहेको बताउँदै उनले यसपछि यही कामबाट अन्य काम गर्ने उल्लेख गरे । अहिले बन्न लागेको रङ्गशालामा ३५ खेल खेलाउन सकिने छ । “विषय विज्ञसँग छलफल भइरहेको छ, रङ्गशाला निर्माणका लागि उपलब्ध २० बिघा ६ कट्ठा जग्गाको संरक्षण गर्ने काम पनि भइरहेको छ”, उनले भने । रङ्गशालालाई खेलकूद एकेडेमीका रुपमा विकास गर्ने गरी आफूहरु लागि परेको उनको भनाइ थियो । नेपाली कामदारको प्रयोग गरी रङ्गशाला निर्माण गर्ने योजना रहेको कट्टेलले बताए। एक महिना अघि भरतपुर महानगरपालिकासँग क्रिकेट रङ्गशला निर्माणका लागि धुर्मुस– सुन्तली फाउण्डेशनसँग जग्गा सम्झौता भएको थियो ।
रासस

Womui
Womui