पाशुपत क्षेत्रमा भक्तजनको घुइँचो, शिवरात्रिलाई सुरक्षित बनाउन पाँच हजार सुरक्षाकर्मी परिचालित

136

छिनछिन खबर
काठमाडौं– शिवरात्रिको अवसरमा पाशुपत क्षेत्रमा भक्तजनको घुइँचो लागेको छ । फाल्गुन कृष्ण चर्तुदशी अर्थात महाशिवरात्री पर्वको बेला भगवान् शिवको पूजा–आराधना गरी धुमधापूर्वक मनाइन्छ । शिवरात्रि मनाउन पशुपतिनाथ लगायत शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थीको लाम लागेको छ । दर्शनका लागि बिहानैदेखि पशुपतिका उत्तर, पश्चिम र दक्षिण ढोका खुला गरिएको छ ।


शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेख छ । राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । शिवरात्री पर्वको मेला भर्न देशभरका विभिन्न भागलगायत छिमेकी देश भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको छ । यस वर्ष प्रयागराजमा भएको कुम्भ मेलाका दर्शनार्थीमध्ये केही पशुपतिनाथ मन्दिरमा पनि आएकाले एक हप्ता अघिदेखि नै साधुसन्त लगायत भक्तजनको भीड बढेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

यसैबीच पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताए । गएको वर्षदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको थियो । यस वर्ष पनि यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन र बेचबिखन गरेको पाइएमा प्रहरीले कारवाही गर्ने उनले बताए । पशुपतिनाथ मन्दिर परिसरमा सुरक्षाका लागि पाँच हजार सुरक्षाकर्मी र भीडभाड नियन्त्रणका लागि चार हजार स्वयंसेवक खटिएका छन् । कोषले यस वर्ष दर्शनार्थीको सहजताका लागि चारैतर्फ लामको व्यवस्था मिलाएको छ । त्यस्तै दर्शनार्थी बाहिरिने मूलद्वार नजिकै चन्दन वितरण गरिने व्यवस्था मिलाइएको छ । हंसमण्डप, वनकालीको खुला स्थान,तिलगंगा क्षेत्रलाई आवास क्षेत्र तोकिएको छ । आवास क्षेत्रमा एकसय संस्थाले निःशुल्क भोजन, पानी र चिया वितरणको व्यवस्था मिलाएका छन् ।
Womui
Womui