घुम्ती शौचालयको दिसा, पिसाब मानव बस्तीमा लगेर बिर्सजन

96

नेपालगन्ज, फागुन १९-
नेपालगन्ज उपमहानगरपालिकाले घुम्ती शौचालयको दिसा, पिसाब मानब बस्तीमा लगेर विर्सजन गर्ने गरेको छ । उपमहानगरपालिकाले गत माघ ९ गते चार वटा घुम्ती शौचालय सञ्चालनमा ल्याएको थियो । शौचालयमा जम्मा भएको दिसा, पिसाबलाई सरसफाई कर्मचारीले जथाभावी रुपमा बिर्सजन गरेका हुन् । मानव बस्तीमा लगेर दिसा, पिसाब बिर्सजन गरेको भन्दै स्थानीयले बिरोध गरेका छन् ।

उपमहानगरपालिकाले घुम्ती शौचालय आफैले सञ्चालन नगरेर ‘स्वच्छ नेपाल हाम्रो अभियान’ नामक गैर सरकारी संस्थालाई जिम्मा दिएको छ । उक्त संस्थाले मानव बस्ती भएको स्थानमा लगेर दिसा, पिसाब बिर्सजन गरिरहँदा पनि उपमहानगरपालिकाले बेवास्ता गरेको भृकुटीनगरका एक स्थानीयले बताए । ‘दिसा पिसाब जस्तो फोहोर बस्तुलाई अलि टाढा लगेर बिर्सजन गर्नुपर्ने हो, तर सिधैं बस्तीको छेउमा लगेर बिर्सजन गरिरहेको देखिन्छ,’ ती स्थानीयले भने ‘यसमा उपमहानगरपालिकाले पनि चासो लिनुपर्ने हो, तर बेवास्ता गरिरहेको छ ।’

उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर घुम्ती शौचालयको दिसा पिसाब बिर्सजन गर्ने जिम्मा ठेकेदार स्वयंले लिएको बताईन् । ‘घुम्ती शौचालय सञ्चालन गर्न र त्यहाँको फोहोर ब्यवस्थापन गर्न सबै जिम्मा ठेकेदारलाई दिईसकेका छौं, ठेकेदारले नै सबै कुरा गर्ने हो,’ उनले भनिन् ‘कहाँ लगेर बिर्सजन गर्ने भन्ने विषयमा अहिलेसम्म कुनै मापदण्ड बनाइएको छैन ।’ ठेकेदारले मानवबस्ती छेउछाउमा लगेर बिर्सजन गर्न नपाउने उपप्रमुख थापाको भनाई छ । मानव स्वास्थ्यमा खेलवाड गर्न नपाईने उनले बताईन् ।

उपमहानगरपालिकाको सरसफाई शाखाका निरीक्षक अशोक केसीले घुम्ती शौचालयको दिसा, पिसाब मानव बस्तीमा लगेर बिर्सजन गरेको गुनासो आउने गरेको बताए । ‘अहिलेसम्म ठेकेदारले खाली जग्गा हेरेर त्यही ठाउँमा दिसा, पिसाब बिर्सजन गर्ने गरेको स्थिती छ, जनता धेरै जागरुक भईसकेका छन्, त्यसरी खुल्ला ठाउँमा बिर्सजन गर्न दिदैनन्,’ केसीले भने । नेपालगन्जको हिरमिनियामा बन्न लागेको स्यानिटरी ल्याण्डफिल साईडको काम सम्पन्न भएपछि फोहोरमैला ब्यवस्थापन सम्बन्धी समस्याको अन्त्य हुने उनको दाबी छ । कुल ५९ लाख रुपैयाँको लागतमा शौचालय सञ्चालनमा ल्याइएको उपमहानगरपालिका कार्यालयले जनाएको छ । ती शौचालयलाई आवश्यकता अनुसार नेपालगन्जका विभिन्न स्थानमा राखिएको छ । घुम्ति शौचालय सञ्चालन गर्न तीन महिनाका लागि मुल्य अभिवृद्धि करसहित ७० हजार रुपैयाँमा ठेक्का दिइएको उपमहानगरपालिका कार्यालयले जनाएको छ । उक्त शौचालयमा दिसा गरे वापत १० र पिसाब गरेमा ५ रुपैयाँ शुल्क लिईन्छ ।

  • नागरिक पश्चिमेलीबाट
Womui
Womui