विकट गाउँमा सरकार पुग्दा स्थानीय हर्षित

303

(बाँके) खयरभट्टी, फागुन १६-
स्थानीय जनप्रतिनिधीसहितको टोली गाउँमा आउन लागेको पत्तो पाएपछि खयरभट्टीका ६५ बर्षिय कृष्णबहादुर बुढाथोकी गत शुक्रबार दिनभर कतै गएनन् । करिव ४ घण्टाको प्रतिक्षापछि स्थानीय सरकार प्रमुख समेत रहेका राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, वडा नम्बर ४ का वडाअध्यक्ष कान्छा थारु, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र पत्रकारको टोली उनको गाउँमा पुग्यो । त्यसपछि कृष्णबहादुरले आफु नेपाली नागरिक भएको अनुभुती गरे । ‘अतिविकट गाउँ भएको हुँदा हामीले यहाँ ठुला मान्छेलाई देख्नै पाउँदैनौं, यो जंगलभित्र ‘राउटे’ जस्तै गरी बसेका हामीले आज तपाईहरुलाई देख्न पाईम्, बल्ल नेपाली नागरिक भएको जस्तो अनुभव भयो,’ उनले हर्षित हुदै भने । विगत १४ वर्षदेखी कृष्णबहादुर चार जनाको परिवारसहित खयरभट्टीमा बस्दै आएको छ ।

गाई बाख्रा पाल्ने, बाबियो काट्ने, डोरी बनाउने यहाँका बासिन्दाको पेशा हो । यहाँ सहज रुपमा पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्छ, भने राप्तीसोनारी–४ बैजापुर गाउँबाट करिव ३ घण्टाको पैदल दुरीमा पर्छ । बाँकेको पुर्वी–दक्षिणमा रहेका भारतीय सिमासँग जोडिएको उक्त क्षेत्रमा नेपाली बस्ती बसेको करिव दुई दशक भएको छ । साबिक बाँकेको बैजापुर गाविस–४ मा पर्ने उक्त क्षेत्र हाल राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ मा पर्छ । सो क्षेत्रमा खयरभट्टी, गुर्दनगौडी, महेशपुर, कुण्ठेपानी, माछपानी, बाँसखोली, चुनभट्टी र झुरुवा बस्ती रहेका छन् । तर, उक्त बस्ती एक दशक अघि मात्र पत्ता लागेको थियो । ‘नयाँ बस्ती’ पत्ता लागेपछि जिल्ला प्रशासन कार्यालयले यहाँका बासिन्दालाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको थियो ।

सिमावर्ती क्षेत्रमा पहाड र घनाजंगलको बीच बसेका बस्तीहरुमा अहिलेसम्म सडक सञ्जालसँग जोडिएको छैन । बाटो, खानेपानी, सिचाइँ, स्वास्थ्य, सञ्चार, बिद्युत लगायत सेवाबाट नागरिक बञ्चित छन् । यहाँका बासिन्दा दैनिक उपभोग्य बस्तु किनमेलका लागि भारतीय बजारमा पुग्छन् । बैकल्पिक उर्जाका लागि सोलार बत्तीमा निर्भर छन् । घरमा कोही बिरामी भएमा भारतको बघौडामा रहेको अस्पताल पु¥याउँछन् । कुनैपनि नेपाली सञ्चार माध्यमको पहुँच त्यहाँ छैन । मोबाईल टावर नहुँदा सञ्चार सम्पर्कसँग जोडिन सकेका छैनन् । जिल्ला सदरमुकाम र गाउँपालिकाको केन्द्र समेत थाहा नपाएका नागरिकहरुको अवस्था निकै दयनीय छ । सरकारी सेवा, सुविधाको नाममा अहिलेसम्म एउटा प्राथमिक बिद्यालय मात्र सञ्चालनमा छ । नयाँ गाउँ पत्ता लागेपछि तत्कालिन जिल्ला शिक्षा कार्यालयले २०६६ सालमा स्थापना गरेको सुर्योदय प्राथमिक बिद्यालयमा कक्षा ४ सम्म पढाई हुन्छ ।

गाउँमा जनप्रतिनिधीसहित नेपाली सुरक्षाकर्मी, कर्मचारी तथा पत्रकार टोली पुग्दा यहाँका स्थानीयहरु हषित देखिन्थ्ये । आफुहरुको बस्ती जोड्ने मोटरबाटो नहुँदा नेपाल सरकारको पहुँचमा पुग्न नसकेको उनीहरुले सामुहिक रुपमा दुखेसो पोखे । ‘हाम्रो बस्ती जोड्नलाई मोटर बाटो नहुँदा नेपाल सरकारले दिने सेवा, सुबिधाको पहुँचमा छैनौं,’ अर्का स्थानीय गणेशबहादुर बुढामगरले भने ‘सिमा क्षेत्रमा बसेर नेपाली भुमिको रक्षा गर्ने र आफ्नो घरपरिवार चलाउने काम गरिरहेका छौं ।’ भारतीयको बढी चहल–पहल हुने यि बस्तीमा सल्यान, रोल्पा, रुकुम, प्युठान, दाङ, बाँके लगायत जिल्लाबाट बसाई सरेर आएका ब्यक्तिहरु बस्ने गरेका छन् । यहाँका आधा दर्जन बढी बस्तीमा करिव डेढ सय घरधुरीको बसोबास रहेको बुढाले बताए । यहाँका स्थानीयले जनश्रमदानमा करिव ५ किलोमिटर बाटो निर्माण गरेका छन् । गाउँपालिका अध्यक्ष थारु सहितको टोली बस्तीमा पुगेपछि भने यहाँका बासिन्दाले विकास आउन अपेक्षा गरेका छन् । ‘गरिबीले सताएपछि जंगल पस्न बाध्य भएका थियौं, समस्यासँग जुधेर भएपनि अहिलेसम्म जीवन बिताएकै छौं, अब स्थानीय सरकारले हाम्रो लागि केही गरिदिनुप¥यो,’ बुढाले भने ।

आफुहरु बस्न थालेपछि भारतीयबाट हुने नेपाली भुमी र वन अतिक्रमण क्रमिक रुपमा रोकिएको उनको जिकिर छ । आफुहरुको सबैभन्दा ठुलो समस्या बाटो र त्यसपछि खानेपानी समस्या रहेको सुनाए । ‘अरु कुरा त बिस्तारै सम्बोधन हुदै जालान्, हामीलाई नेपाली जनता मान्नुहुन्छ भने सबैभन्दा पहिला बाटो बनाईदिनुस्,’ बुढाले थपे । स्थानीयको गुनासो सुनिसकेपछि राप्तीसोनारी गाउँपालिका अध्यक्ष थारुले आफु दुई वर्षअघि चुनावको लागि भोट माग्न आएको स्मरण गर्दै भने, ‘चुनाबको समयमा म समय मिलाएर यहाँ आएको हुँ, त्यतिबेला एउटा उम्मेदवार मात्र थिए, अहिले तपाईहरुले निर्वाचित गराएको जनप्रतिनिधी भएको छु, तपाईका समस्याप्रति हामी गम्भिर छौं ।’ अध्यक्ष थारुले आफ्नो कार्यकालभित्र सिमावर्ती यि बस्तीसम्म बाटो पु¥याउने प्रतिवद्धता जनाए । आफ्नो क्षेत्रको भुमी, वन जंगल, काठ दाउराको संरक्षण गरेर राख्न उनले आग्रह गरे । राप्तीसोनारी–४ का वडाअध्यक्ष थारुले ‘नयाँ बस्ती’ क्षेत्रको विकासका लागि आफुले प्राथमिकतामा राखेको बताए । ‘यहाँका गाउँहरु हाम्रो वडामा पर्ने हुँदा विकासमा हाम्रो प्राथमिकता रहन्छ,’ उनले भने ।

Womui
Womui