रोजगार संयोजकको नतिजा प्रकाशितः कम्प्युटरमा २५ अङ्क नपाएर फेल हुने धेरै

79

छिनछिन खबर
काठमाडौं,फागुन १३ । देशबाट गरीबी घटाउने र अन्ततः हटाउने रणनीतिका साथ सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रमको अन्तिम नतिजा सोमबार प्रकाशित भएको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो ।

मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजकको न्यूनतम योग्यता र मापदण्ड पुगेका २ हजार २ सय ६२ जनाको प्रारम्भिक सूची माघ २८ गते प्रकाशन गरेको थियो । प्रारम्भिक सूचीमा रहेका २ हजार २ सय ६२ परीक्षार्थीको शनिवार र आइतबार कम्प्युटर सीपमा आधारित परीक्षा लिइएको थियो ।कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको हो । नतिजा हेर्न यहाँ क्लिकगर्नुहोस् ।

यस्तो थियो रोजगार संयोजकको न्यूनतम योग्यता
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार संयोजक बन्ने न्युनतम योग्यताबारे मन्त्रीपरिषद् वैठकबाट २०७५ पुष ९ गते मापदण्ड स्वीकृत गरेको थियो ।स्वीकृत मापदण्ड अनुसार ७ सय ५ स्थानमा रहने शाखा अधिकृत सरहको रोजगार संयोजकका लागि न्युनतम योग्यता स्नातक तह रहेको थियो । त्यसैगरी ४८ स्थानीय तहमा रहने नायब सुब्बा सरहको रोजगार संयोजकको लागि न्युनतम योग्यता प्रमाणपत्र तह वा प्लस टु सरह रहेको थियो ।

कुल १ सय अङ्कको पूर्णाङ्कमा तोकिएको न्युनतम शैक्षिक योग्यताको प्राप्त लब्धाङ्क प्रतिशतलाई आधार मानी अधिकतम ७० अङ्क, न्युनतम भन्दा माथिल्लो शैक्षिक योग्यता भए थप अधिकतम २० अङ्क र सम्बन्धित क्षेत्रमा काम गरेको कम्तीमा २ वर्ष पूरा भएको भए अधिकतम १० अङ्क प्राप्त गर्न सकिने थियो ।मन्त्रिपरिषद्बाट स्वीकृत मापदण्डअनुसार प्राप्त आवेदनहरुबाट छनोट गरी माघ २८ गते मन्त्रालयले २ हजार २ सय ६२ जना उम्मेदवारको प्रारम्भिक सूची प्रकाशन गरेको थियो । त्यसपछि फागुन ११ र १२ गते मन्त्रालयले पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा कम्प्युटर सीप परीक्षा लिएको थियो । कम्प्युटर परीक्षामा उत्तीर्ण हुन कम्तीमा २५ अङ्क प्राप्त गनुपर्ने मापदण्डमा उल्लेख छ ।

पहिलेको अङ्कको गणना नहुने
रोजगार संयोजकको नियुक्ति हुने सम्बन्धमा प्रारम्भिक सुचीमा प्राप्त अङ्कको गणना नहुने मापदण्डमा उल्लेख छ । कम्प्युटर सीप परीक्षामा सहभागी हुनका लागि मात्रै प्रारम्भिक सुची प्रकाशन गरिएको मन्त्रालयले जनाएको छ ।कम्प्युटर सीप परीक्षाका लागि ५० पूर्णाङ्कको २५ वटा बहु वैकल्पिक प्रश्न कम्प्युटर प्रणालीबाट नै सोधिएको थियो । ती प्रश्नहरुमा कम्तीमा १३ वटा प्रश्नको सही उत्तर दिने आवेदक मात्रै उत्तीर्ण भएका छन् ।

अधिकांश परीक्षार्थी फेल
रोजगार संयोजकको प्रारम्भिक छनोट सुचीमा परेका २ हजार २ सय ६२ उम्मेदहरुमध्ये अधिकांश परीक्षार्थी कम्प्युटर सीप परीक्षामा अनुत्तीर्ण भएका छन् ।प्रदेश नम्बर ५ बाट कम्प्युटर सीप परीक्षामा सहभागी भएका ३ सय २७ उम्मेदवार मध्येबाट आवश्यक मात्रामा परीक्षार्थी कम्प्युटर सीप परीक्षामा उत्तीर्ण भएपनि अन्य प्रदेशबाट भने आवश्वक मात्रामा परीक्षार्थी उत्र्तीर्ण हुन सकेका छैनन् ।यसरी हेर्दा प्रदेश नम्बर ५ मा केही प्रतिस्पर्धा भएपनि अन्य प्रदेशमा भने कम्प्युटर सीप परीक्षामा कम्तीमा २५ अङ्क प्राप्त गर्ने उम्मेदवारहरुको जागिर पक्का भएको छ ।

कोटा नपुगेमा पुनः आवेदन मागिने
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रदेश नम्बर ५ बाहेकका अन्य प्रदेशमा अपुग कोटाका लागि पुनः आवेदन माग गरी परीक्षा लिने व्यवस्था मिलाइनेछ ।हालको मापदण्डमा अनुत्तीर्ण हुनु परीक्षार्थीलाई प्रतीक्षा सुचीमा पनि नराखिने भएको छ । अन्य प्रदेशमा फारम भरी उत्तीर्ण भएकाहरुलाई पनि अन्य प्रदेशमा नियुक्ति नदिइने भएको छ । जुन प्रदेशमा रोजगार संयोजकका लागि आवेदन दिइएको हो, त्यही प्रदेशभित्र मात्रै नोकरी गर्ने गरी नियुक्ति दिइने मनत्रालयले जनाएको छ ।

नतिजा शतप्रतिशत निष्पक्षः मन्त्रालय
करार सेवाका लागि आवेदन माग गरिएपनि यो इतिहासकै सबैभन्दा निष्पक्ष परीक्षा भएको मन्त्रालयले दाबी गरेको छ । मन्त्रालयका उपसचिव तथा प्रधानमन्त्री रोजगार कार्यक्रम शाखा हेर्ने उपसचिव डाक्टर लोकनाथ भुसालका अनुसार नतिजा शत प्रतिशत निष्पक्ष रहेको छ ।पहिले आवेदन लिँदा र प्रारम्भिक सुची प्रकाशन गर्दा पनि निष्पक्ष ढङ्गबाट मापदण्ड र योग्यता तथा प्राप्ताङ्क अनुसार सुची प्रकाशन गरिएको उपसचिव भुसालले दाबी गरे ।
प्रारम्भिक सूची प्रकाशन पछि कम्प्युटर सीप परीक्षामा सहभागी भएकाहरुले कति अङ्क प्राप्त गरे भनेर पनि तत्कालै त्यहीँ हेर्न सकिने व्यवस्था मिलाइएको थियो । त्यसकारण यो परीक्षा शतप्रतिशत निष्पक्ष रहेको मन्त्रालयको दाबी छ ।

समितिमा लोकसेवाकै प्रतिनिधि
कम्प्युटर सीप परीक्षा सञ्चालनका लागि लोकसेवा आयोगकै टीमले प्रश्न निर्माण गर्ने काम गरेको थियो । सुरुमा रोजगार संयोजकको परीक्षा लिइदिन मन्त्रालयले लोक सेवा आयोगलाई नै आग्रह गरिएको उपसचिव भुसालले बताए । तर आयोगले यो आफ्नो क्षेत्राधिकारभन्दा बाहिर रहेको र आफूहरुले स्थायी नियुक्तिका लागि मात्रै परीक्षा लिन मिल्ने जवाफ दिएपछि मन्त्रालयले आयोगको सहयोग लिएर परीक्षा गराएको थियो ।भुसालका अनुसार प्रश्न निर्माण गर्दा लोकसेवाले नै गर्ने विधिअनुसार लोकसेवाकै प्रतिनिधि राखेर गोप्य तरिकाबाट निर्माण गरिएको थियो ।प्रदेश तथा तह अनुसार अनुसार फरकफरक प्रश्नवाली निर्माण गरिएको मन्त्रालयले जनाएको छ ।

Womui
Womui