ब्याजदर घटाउन प्रधानमन्त्रीले नै बोलेपछि बैकिङ क्षेत्र तरंगित

91

छिनछिन खबर
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकको ब्याज दर घटाउने विषयमा बोलेपछि बैकिङ क्षेत्र तरंगित बनेको छ । बैंकले लिने ब्याजदरको बारेमा प्रधानमन्त्री बोल्न थालेपछि बैंकरहरू आत्तिएका छन् ।

उद्योग सञ्चालन गरिरहेका व्यक्तिले बंैकले सर्वसाधारबाट उठाउने निक्षेपमा दिने ब्याज घटेको तर बैंकबाट लिने ऋणको ब्याज दर नघटेको भन्दै प्रधानमन्त्रीसमक्ष गुनासो गरेका थिए । त्यसपछि ओलीले कर्जामा तय गरेको ब्याजदर सम्बन्धमा पहल गर्न अर्थमन्त्री र नेपाल राष्ट्र बैंकको गभर्नरलाई निर्देशन दिए ।

बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याज बढाएर औद्योगिक वातावरण नै विगारेको भन्दै उद्योगी ब्यवसायीले धारणा राखेपछि प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्री निवास वालुवाटारमा अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका गभर्नर, नेपाल उद्योग बाणिज्य महासंघका प्रतिनिधि सहितका उद्योगी ब्यवसायीसँग छलफल पछि प्रधानमन्त्री ओलीले अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकलाई यस्तो निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले ३ दिनभित्रमा ब्याजदरको विषय समाधान नगरे आफैले हस्तक्षेप गर्ने बताएको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बताइन् । सोही भेटमा उद्योगी ब्यवसायीले बैंकले सिण्डिकेट लादेर चर्काे ब्याज लिएको र बीमा कम्पनीहरुले पनि त्यस्तै गरेको गुनासो प्रधानमन्त्री ओलीलाई सुनाएका थिए । बैंकको ब्याज नघट्ने हो भने उद्योग ब्यवसाय नै बन्द गर्नुपर्ने अबस्था आएको ब्यवसायीहरुको गुनासो थियो ।

‘बैंक पनि चल्नुपर्छ, उद्योग ब्यवसाय गर्ने वातावरण पनि बन्नुपर्छ, कुनै एक क्षेत्र राम्रो हुने र बाँकी क्षेत्र कमजोर हुने गरी अर्थतन्त्र अगाडि बढ्न सक्दैन,’ प्रधानमन्त्री ओलीले सो बैठकमा भनेको कुरा उधृत गर्दै सहभागी अर्का ब्यवसायीले भने । छलफलमा अर्थमन्त्री डा. युवराज खतिवडाले ऋणको ब्याज घटाउँदा निक्षेपको ब्याज पनि घट्न सक्ने भन्दै समग्र अर्थतन्त्रलाई नकारात्मक असर नपर्ने गरी अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।

‘केही दशक अगाडिसम्म स्प्रेड दर (निक्षेप र कर्जाको ब्याज अन्तर) ८÷९ प्रतिशत थियो, अहिले ५ प्रतिशतभन्दा तल नै राख्नुपर्ने नियामकीय ब्यवस्था छ, सिमित उद्योगी ब्यवसायीको कुरा सुनेर १ करोड निक्षेपकर्तालाई बेवास्ता गर्न सकिँदैन, त्यसले के गर्न सकिन्छ, त्यसमा छलफल गरौं,’ सहभागीका अनुसार अर्थमन्त्रले सो छलफलमा भनेका थिए । अर्थमन्त्री डा. खतिवडाले सोमबार सोही बिषयमा थप छलफल गर्ने तयारी गरेका छन् ।

Womui
Womui