मेक्सिकोको सीमानामा पर्खाल लगाउन अमेरिकामा संकटकाल, यस्तो छ ट्रम्पको तयारी

23

एजेन्सी
वासिङटन डिसी– यसअघि पटक–पटक संकलटकाल लगाउने घोषणा गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः अमेरिकामा राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । सीमामा पर्खाल लगाउन मागेको करिब ८ अर्ब डलर बजेट नपाएपछि ट्रम्पले संकटकालको घोषणा गरेका हुन् ।


ट्रम्पले आफ्नो कार्यकारी शक्तिको प्रयोग गर्दै राष्ट्रपतिको सरकारी कार्यालय ह्वाइट हाउसबाट राष्ट्रिय संकटकाल घोषणा गरे । विपक्षी दलका नेताहरुले भने संविधानको सीधा अपमान भएको प्रतिक्रिया दिएका छन् ।

अमेरिकाको दक्षिणी सीमामा पर्खाल बनाउने चुनावी नारालाई कार्यान्वयन गराउन ट्रम्पले हर प्रयास गरेपनि विपक्षी दल डेमोक्र्याटको विरोधको कारण उनको योजना अनुसारको बजेट सदनबाट पास गराउन नसकेपछि ट्रम्पले नयाँ कदम चालेका हुन् । उनले आफ्नो कार्यकारी अधिकारको प्रयोग गर्दै राष्ट्रिय संकटकालको घोषणा गर्दा आपतकालीन अवस्थाको लागि रहेको कोषको बजेट प्रयोग गरेर सीमामा पर्खाल बनाउन सक्ने बताइएको छ ।

अमेरिकी समाचार संस्था सीएनएनका अनुसार संकटकाल लगाउँदा सैनिक र विपद व्यवस्थापनको लागि रहेको राहत कोषको बजेट ट्रम्पले चलाउन सक्ने छन् । मेक्सिकोसँगको करिब ३ हजार २ सय किलोमिटर क्षेत्रमा स्टिलको पर्खाल बनाउन ट्रम्पले सदनसँग बजेट माग्दै आएका थिए । तर विपक्षी दल र केही आफ्नै पार्टीको सांसदको कारण सदनबाट यो बजेट पारित हुन सकेन । बजेट नभएकै कारण अघिल्लो महिना एक महिनाभन्दा बढी समय धेरै सरकारी कार्यालयको कामकाज नै ठप्प भएको थियो ।

विपक्षी दल अदालत जाने
ट्रम्पले संकटकालको अस्वभाविक घोषणा गरेपनि यसको कार्यन्वयलाई भने अदालतले रोकिदिने संभावना देखिएको छ । सर्वधारण नागरिकको तर्फबाट भन्दै डिष्ट्रक्ट अफ कोलम्बियामा रहेको संघीय अदालतमा मुद्दा दायर भएको छ । त्यस्तै राजधानी डिसीमै अर्को एक मुद्दा पनि दायर गरिएको छ । ट्रम्पले भने संबोधनको क्रममै आफूले सर्वोच्च अदालतको सामना गर्नुपर्ने विषयमा जानकार रहेको भन्दै अदालतले न्यायपूर्वक निर्णय गर्नेमा आफू ढुक्क रहेको बताएका छन् । ‘यो विषय अदालतमा जान्छ त्यो मलाई थाहा छ तर मलाई लाग्छ राष्ट्रिय संकटलाई अदालतले बुझेको छ,’ उनले भने ।

राष्ट्रपति ट्रम्पले राष्ट्रिय संकटकालको घोषणा गरेपनि ट्रम्पकै पार्टी रिपब्लिन पार्टीका केही सांसदहरुले भने यो निर्णयमा साथ नदिने घोषणा गरेका छन् । टेक्सासबाट रिपब्लिकन पार्टीको तर्फबाट निर्वाचित सांसदले राष्ट्रपतिको यो फेक संकटकाललाई आफूहरुले साथ नदिने घोषणा गरेका छन् ।

ट्रम्प पर्खालको पछाडि लाग्नुको यटो छ कारण
२०१६ मा ४ वर्षको लागि राष्ट्रपतिमा निर्वाचित ट्रम्पले सीमामा पर्खाल लगाउने नारालाई चुनावी एजेण्डा बनाएका थिए । आप्रवासीप्रति कट्टर रहेको रिपब्लिकन पार्टीको तर्फबाट चुनावमा होमिएका ट्रम्पले परापुर्खादेखि अमेरिकामा बस्दै आएका रैथाने अमेरिकनहरुको भोट पाउनको लागि यस्ता नारा ल्याएको विपक्षीको आरोप छ ।

आप्रवासी केन्द्रीत नीतिको कारण बेला बेलामा विवादमा पर्दै आएका ट्रम्पले आफ्नो मुख्य ऐजेण्डाको रुपमा रहेको सीमा पर्खाल निर्माणको कार्यलाई जसरी पनि २०२० अगाडि नै सुरु गर्न चाहन्छन् । किनभने २०२० मा अर्को पटक राष्ट्रपतिको चुनाव हुँदैछ । अमेरिकामा प्रायजसो दुई कार्याकालको लागि राष्ट्रपतिको चुनाव जितिरहेको उदाहरण भएपनि ट्रम्पको लागि भने त्यो सहज देखिएको छैन । पहिलाको वाचा अनुसार काम अगाडि बढे आगामी निर्वाचनको लागि पनि सजिलो हुने अनुमानका साथ उनी पर्खाल बनाउन लागि परेको विश्लेषणहरु बताउँछन् ।

Womui
Womui