मलेसिया रोजगारी बन्दको बन्दै, करोडौं घाटा

175

मालती ओली
काठमाडौं–नौ महिनादेखि बन्द मलेसिया रोजगारी कहिले खुल्छ भन्नेबारे अझै टुंगो छैन । बन्द हुँदाअघि नेपाली युवाको पहिलो गन्तव्य रहेको मलेसिया रोजगारी नखोल्दा नेपाल भित्रिने करोडौं रेमिट्यान्स समेत गुमिरहेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जेठ २ गतेदेखि मलेसिया कामदार पठाउने संस्थाले अतिरिक्त शुल्क लिएको भन्दै मलेसिया रोजगारी बन्द गरेको थियो । मन्त्रालयले निर्धारण गरेको शुल्क लिएरै काम गरिरहेका बायोमेडिकल, भिएलएन÷ओएससी तथा आइएससीलाई ठगी मुद्दा लगाए पनि पुष्टि हुन सकिरहेको छैन । अदालते ती संस्थामाथि लगाइको मुद्दामा सफाइ दिइरहेको छ ।


प्रष्ट देखिने कुनै कारणबिना मलेसिया रोजगारी रोकिँदा त्यसको असर समग्र अर्थतन्त्रमा पर्ने खतरा भने बढेको छ । अहिले युवा मलेसिया जान नपाएको असर अर्को वर्ष भयानक रूपमा देखिने अर्थविद् बताउँछन् । नेपालले प्राप्त गर्ने रेमिट्यान्समा मलेसियाको योगदान करिब एक तिहाई छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष नेपालमा विभिन्न गन्तव्य मुलुकबाट ७ खर्ब ५५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । जसमध्ये २ खर्ब रेमिट्यान्स जतिको योगदान मलेसियाको थियो ।

चालु आर्थिक वर्षको पाँच महिनामा सबै मुलुकबाट तीन खर्ब ७८ अर्ब रेमिट्यान्स भित्रिएको छ । विगतमा विदेश गएका युवाले रकम पठाइरहेकाले यतिखेर रेमिट्यान्स घटेको खासै असर देखिएको छैन ।

गत वर्षकै आँकडालाई आधार मान्ने हो भने पनि मलेसिया रोकिएको जेठयता नेपालले साढे एक खर्ब रुपैयाँ रेमिट्यान्स गुमाइसकेको देखिन्छ । व्यापार घाटा चुलिएको बेला अर्थतन्त्रलाई टिकाएको रेमिट्यान्स अब घट्ने भए पनि सरकारले त्यसको विकल्पमा अर्को कार्यक्रम अघि सारेको देखिँदैन । स्वदेशमा बेरोजगार युवाले रोजगारी पाएका छैनन् । मलेसिया रोजगारी बन्द हुँदा श्रम समझदारी गरेर मात्र सुचारु गर्ने बताउने गरेका मन्त्रालयका अधिकारीहरूसँग अबको रोजगारी कहिले खुल्छ भन्नेबारे कुनै जवाफ छैन ।

कात्तिक १२ गते नेपाल र मलेसियाबीच श्रम समझदारी (एमओयू) भइसकेको छ । मलेसिया रोजगारी खोल्न एमओयू पर्खेर बसेका युवा यतिखेर निराश भइरहेका छन् । मलेसियासँगको एमओयूमा पुरानै प्रक्रियाद्वारा कामदार लैजाने र कामदारको सम्पूर्ण खर्च रोजगारदाताले बेहोर्ने उल्लेख छ ।

सोही एमओयूलाई आधार मान्दै काठमाडौंस्थित मलेसियाली राजदूतावासले परराष्ट्र मन्त्रालयलाई पूरानै प्रक्रिया अनुसार कामदार लैजाने भन्दै पत्राचार गरिसकेको छ । त्यस्तै दूतावासले जेठ २ गतेअघि मलेसिया रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका ३९ मेडिकल संस्था, राहदानी संकलनको काम गर्दै आएको भिएलएन÷ओएससी र औंठा छापको काम गर्ने आइएससीलाई काम सुचारु गर्न पत्राचारसमेत गरिसकेको छ ।

राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा श्रमविद् गणेश गुरुङले जति समय मलेसिया रोजगारी बन्द हुन्छ त्यसको मार गरिब युवाले खेप्दै जानु पर्ने बताए । ‘मलेसिया रोजगारी बन्द हुँदा बेरोजगारीको संख्या त बढ्छ नै,’ उनले भने, ‘युवा रोजगारीमा जान नै नपाएपछि रेमिट्यान्समा पनि ठूलो असर पर्छ ।’

मन्त्रालयका प्रवक्ता नारायण रेग्मी मलेसिया रोजगारी खुलाउन प्रयास भइरहेको बताउँछन् । ‘केही कुरा मिलाउनु पर्ने भएकाले मलेसिया सरकारको निर्णयलाई पर्खेका छौं,’ रेग्मीले भने, ‘अब मलेसियाका लागि तोकिनु भएका नेपाली राजदूत पुग्नु भयो भने चाँडो सुरु होला ।’

जेठ २ गतेअघि रोजगारीका लागि प्रतिमहिना सरदर ७ हजार युवा मलेसिया जान्थे । हालसम्म मलेसिया जान करिब १० लाख युवाले श्रम स्वीकृति लिएका छन् । तीमध्ये अझै ५ लाखजति मलेसियामा रहेको अनुमान छ ।

मन्त्रालयको बन्द गर्ने निर्णयपछि कलिङ भिसा प्राप्त गरेका युवासमेत मलेसिया जानबाट रोकिएका छन् । मलेसिया जाने सबै प्रक्रिया पूरा गरेका र सबै खर्च गरेर अन्तिम भिसा प्राप्त गर्न बाँकी रहेकालाई कलिङ भिसा प्राप्त गरेको भनिन्छ । म्यानपावर व्यवसायीका अनुसार कलिङ भिसा प्राप्त गरेका युवाको संख्या १०–१५ हजारसम्म छ । कलिङ भिसा प्राप्त गर्दासम्म ती हजारौं युवाको करिब ३० करोड रुपैयाँ खर्च भइसकेको अनुमान छ ।

मलेसियाको अध्यागमन विभागले कलिङ भिसा प्राप्त गरेको तीन महिनाभित्र युवा मलेसिया नपुगेको खण्डमा कालोसूचीमा राख्ने भए पनि कात्तिक १२ गतेको एमओयुमा एकपटकलाई कलिङ भिसा प्राप्त गरेकालाई पुरानै खर्चमा मलेसिया जान दिने सहमति गरिएको छ । तर, मन्त्रालयले कलिङ भिसा प्राप्त गरेकालाई समेत रोक लगाएपछि युवा निरास भइरहेका छन् ।

Womui
Womui