आफू पनि नसक्ने अरुलाई पनि गर्न नदिने नेतृत्वका कारण समृद्धि अवरुद्ध भयोः संयोजक भट्टराई

242

छिनछिन खबर
लमजुङ,फागुन २ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा बाबुराम भट्टराईले आफू पनि गर्न नसक्ने अरुलाई पनि गर्न नदिने शीर्ष नेताहरुको शैलीले देशको समृद्धिको अभियान अवरुद्ध भइरहेको दाबी गरेका छन् ।

पुष्पलाल लोकमार्गमा सञ्चालित एक महिने जनसंवाद यात्राअन्तर्गत बिहीबार लमजुङको सुन्दरबजार पुगेका भट्टराईले भने, ‘इतिहासको कथा सुनाएर विकास हुँदैन, कि आफूले क्षमता विकास गर्न सक्नुपर्‍यो नसके नयाँ पुस्तालाई मार्गप्रशस्त गर्नुपर्‍यो । मात्र कुर्सी ओगटेर देशलाई पछाडि नधकेलौं ।’उनले हिजो लडाईं र क्रान्तिमा अब्बल देखिएका नेताहरु विकास र समृद्धिको नेतृत्व गर्न कमजोर देखिएको आरोप पनि लगाए । उनको प्रश्न थियो, ‘कतै हाम्रा नेताहरुसँग विकास र समृद्धिको आधारभूत ज्ञानको समेत अभाव भएको त होइन ?’

आउँदा केही दशकहरु असाध्यै महत्वपूर्ण हुने भन्दै राजनीतिक नेतृत्वले यसलाई ध्यान दिन नसक्दा मुलुक थप पिछडिने उनको तर्क थियो ।‘क्रान्तिको नेतृत्व गर्ने क्रान्तिकारीहरु सत्तामा पुगेपछि विचलित हुने रहेछन्’ उनले भने, ‘आन्दोलनमा ज्यानै दिन तयार हुनेहरु सत्तामा पुगेपछि जनता विरुद्ध काम गर्न थाल्दा रहेछन्, सत्ताको चास्नीमा डुब्नेरहेछन् । भ्रष्टाचार र ठूला काण्डहरुमा मुछिने रहेछन् ।’हिजो कुन हैसियतमा भएका मानिस आज कुन हैसियतमा पुगे भन्ने कुरा जनताले निरन्तर खबरदारी गर्नुपर्नेमा उनको जोड थियो ।‘असल राजनीति अर्थात् राजनीतिलाई सफा गर्ने कुरा कुनै अलौकिक कुरा होइन, यो लोकतन्त्रलाई बलियो बनाउने कुरा हो र नागरिकको भूमिकालाई बलियो बनाउने काम हो,’ उनले संविधान निर्माणका प्रसंगहरु स्मरण गर्दै भने, ‘संविधानमा हामीले स्थानीय तहका २२ वटा अधिकार लेखेकै छौं । यस्तो अभ्यास संसारमा कतै पनि छैन ।’

उनले वर्तमान सरकारले स्थानीय तहको अधिकार अहिले खोस्ने दुस्प्रयास गरिरहेको आरोप लगाए ।भ्रष्टाचार र अलोकतन्त्र क्यान्सरको संज्ञा दिँदै उनले भने, ‘अरुलाई लाग्दा राम्रो आफूलाई लाग्दा नराम्रो भन्ने सोच सबैले त्यागौं । मुलुकमा ठूला ठूला काण्डहरु घटिरहेका छन् । तर आफ्नो नेताले गरेको भन्नुभयोर तपाईंहरु चुप लाग्नुभयो भन्नुभयो यो देश बिगार्न नेताको मात्र होइन, तपाईंहरुको पनि भूमिका हुन्छ ।’विकास र समृद्धिका लागि हाम्रोजस्तो देशमा केही रणनीतिक कुराहरुलाई जोड दिनुपर्नेमा उनले जोड दिए ।

Womui
Womui