दसगजा क्षेत्रमा यसरी गरिन्छ संयुक्त सुरक्षा गस्ती

123

नेपालगन्ज, फागुन १-
बाँकेस्थित नेपाल–भारत दसगजा क्षेत्रमा संयुक्त गस्ती गरिएको छ । सिमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी बल(एपिएफ) र भारतीय सिमा सुरक्षा बल(एसएसबी)ले संयुक्त रुपमा गस्ती गरेका हुन् । दसगजा क्षेत्रमा शान्ति सुरक्षाका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी गण बाँकेका गणपति सशस्त्र प्रहरी उपरिक्षक भेषबहादुर शाहको कमाण्डमा २५ जना र भारतीय एसएसबी ४२ बटालियन नानपारा बहराईचका कमाण्डर प्रविन कुमारको कमाण्डमा १५ जनाको टोलीले संयुक्त गस्ती गरेका थिए ।

दुबै टोलीले बाँकेको जानकी गाँउपालिका वडा नम्बर १ शिवपुर्वास्थित मुख्य सीमा स्तम्भ नम्बर ६५५ (३६) देखि डडुवा गाँउपालिका–६ मुन्सीपुरुवास्थित सहायक सीमा स्तम्भ नम्बर ६४९/१६ (२७/१०) सम्म संयुक्त गस्ती गरेको सशस्त्र प्रहरी उपरिक्षक शाहले जानकारी दिए । ‘संयुक्त गस्ती पेट्रोल गर्दा सिमा स्तम्भहरु सबै दुरुस्त र कुनैपनि स्तम्भ अतिक्रमणमा नपरेको पाईयो,’ शाहले भने । सशस्त्र प्रहरी गणको मातहतमा रहेका जिल्लाका सबै वि.ओ.पी.ले पनि नियमित रुपमा मासिक र पाक्षिक रुपमा एसएसबीसँग संयुक्त गस्ती गर्ने गरेका छन् । संयुक्त गस्ती फागुन २ गतेसम्म जारी रहने एसपी शाहले जानकारी दिए ।

Womui
Womui